कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण जिल्लाका विद्यालयमा फैलिएको छ । रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालको प्रयोगशालमा एन्टिजेन्ट परीक्षण गर्दा एक निजी र एक सामुदायिक विद्यालयको दुई विद्यार्थी र एक शिक्षकमा संक्रमण पुष्टि भएको हो ।

सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको कक्षा ७ र ९ मा अध्ययनरत दुई विद्यार्थी, एक शिक्षक र न्यू वेष्ट प्वाइन्ट आवासीय माविका एक विद्यार्थी रहेको स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । ‘विद्यालय कोरोना संक्रमणको जोखिममा छ,‘जनस्वास्थ्यको मापदण्ड अनिवार्य प्रयोग गर्नुपर्छ’ लम्सालले भने ।

संक्रमितसँग घुलमिल भएका अन्य विद्यार्थीलाई घरपरिवारलाई निगरानीमा राख्नुपर्ने लम्सालको भनाई छ । विद्यालयमा नियमित जाने विद्यार्थीमा कोरोना पुष्टीसँगै खतराको घण्टी बजिसकेको जानकारहरु बताउँछन्। एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुन्छ ।

यसअगाडी एन्टिजेन्टमा पोजेटिभ आएको रिर्पोटमध्ये सबैजसोको पिसिआरमा समेत पोजेटिभ आएको थियो । विद्यालयमा कोरोना देखिन थालेपछि अभिभावक, विद्यार्थी, शिक्षक र कर्मचारी त्रसित भएका छन् ।

म्याग्दीको सदरमुकाम बेनी कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले विद्यालय बन्द सहितको निर्णय समेत गर्न सक्ने बताइएको छ ।

स्वास्थ्य क्षेत्रका जानकारका अनुसार साना विद्यार्थीलाई स्वास्थ्यको मापदण्ड पालना गर्न गाह्रो हुने र धेरै घण्टासम्म स्कुलमै रहने भएकाले संक्रमण सर्ने जोखिम धेरै रहेका बताउँदै आवश्यक सतर्कता अपनाउनुपर्छ ।

यसैबीच निजी विद्यालयको छाता संस्था निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले समेत केन्द्रको निर्णय कुरेर बसेको छ । विद्यालय बन्द भएमा शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट प्रभावकारी व्यवस्थापन गर्न विद्यालयहरूले वैकल्पिक शिक्षण सिकाइलाई जोड दिनुपर्नेमा सरोकारवाला निकायको जोड छ ।

 

Leave a Reply