म्याग्दीमा कोभिड समुदायमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी विवाह समारोहमा बाजागाजा बजाउन रोक लगाउने निर्णय भएको छ ।

सोमबार साँझ बसेको कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले विवाह समारोहमा बाजागाजाले भिडभाड हुने भन्दै जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्ने गरी बढीमा २५ जना जन्ती मात्रै उपस्थित हुन पाइने ब्यवस्था गरिएको हो ।

बैठकले एक जिल्लाबाट अर्को जिल्लामा विवाह समारोहमा जाँदा कोरोना संक्रमण तथा जिल्ला भित्र समेत भिडभाड हुने भएकाले तोकिएको मापदण्डको अनिवार्य कार्यान्वयनका लागि स्थानीय तहसँग समेत समन्वय गर्ने डिसिसिएमसिका प्रबक्ता एकनारायण लम्सालले बेनीअनलाइनलाई बताउनुभयो ।

‘अब पनि बेवास्ता गरिएमा संक्रमण भयानक हुने निश्चित छ,‘हरेक नागरिक सचेत हुनुपर्ने अवस्था आएको छ’स्वास्थ्य कार्यालयका निमित्त प्रमुख समेत रहनुभएका लम्सालले भन्नुभयो ।

प्रजिअ गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले कोरोनाभाइरस सङ्क्रमणको जोखिमका कारण बुधबारदेखि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । डिसिसिएमसीका आदेशको पालना नगर्नेलाई नियम अनुसार कानुनी कारवाही समेत गरिने छ ।

डिसिसिएमसीको आदेशमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, मनोरञ्जन स्थल,समूहमा खेलिने खेलकुद आगामी बैशाख मसान्तसम्म बन्द, निजी क्लिनिमा कोरोनासँग मिल्ने लक्षण भएका बिरामी आएमा सम्बन्धित पालिकालाई जानकारी गराउने, नाकामा स्थानीय तहले समेत एकजना कर्मचारी खटाउने, बाहिरी जिल्लाबाट आउनेलाई चेकजाँचमा कडाई गर्ने उल्लेख छ ।

त्यस्तै बेनीका एक निजी र एक सामुदायिक विद्यालयमा शिक्षक र तीन विद्यार्थीमा कोरोना पुष्टी भएपछि संक्रमतिसँग घुलमिल भएकालाई साथै कोरोना संक्रमणको जोखिममा रहेकालाई लक्षित गरी पिसिआरको दायरा समेत बढाउने समेत कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका संयोजक प्रजिअ अधिकारीले बताउनुभयो ।

जिल्लाभित्र बाहिर निस्कदाँ अनिवार्य मास्कको प्रयोगमा समेत जोड दिइएको छ । मास्क नलगाउनेलाई प्रहरीले कुनैपनि बेला नियन्त्रण गरी मास्क लगाएपछि छोड्ने र अटेर गरेमा संक्रमण ऐन अन्तरगत कारवाही गर्ने जनाइएको छ । सर्वसाधारण देखि सबैलाई स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी नियमित अनुगमन सहित कार्यहरु समेत अगाडी बढाउने प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले जानकारी दिनुभयो ।

Leave a Reply