नयाँ भेरियन्टसहितको कोरोना तीव्ररुपमा फैलन थालेपछि म्याग्दी बहुमुखी क्याम्पसको २० औं क्याम्पस सभा तथा ११ अधिवेशन स्थगित गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले कोभिड समुदायमा फैलिन सक्ने जोखिमलाई मध्यनजर गरी भिडभाड हुने गतिविधि स्थगन गर्न जारी गरेको आदेश अनुसार अर्को सूचना जारी नहुदाँसम्म क्याम्पस सभा स्थगित गरिएको हो ।

म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदीले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम अनुसार पूर्वनिर्धारत कार्यतालिका अनुसार क्याम्पस सभा आयोजना गर्न नसकिने भएकाले स्थगित गरिएको बताउनुभयो ।

क्याम्पससभामा १ सय २७ जना सहभागी हुने भएकाले प्रशासनले समेत सभा सञ्चालनका लागि अनुमति समेत नदिएको क्याम्पस प्रशासनले जनाएको छ । क्याम्पससभा अर्को कार्यकालका लागि सञ्चालक समिति समेत चयन गर्ने छ ।

क्याम्पस सभा बैशाख १७ गते तय गरिएको थियो । अब कोरोना सम्बन्धि नयाँ मापदण्ड जारी भएपछि मिति तोकिने छ । २०४८ साल पुस १८ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा अहिले कुल ११ सयहो हाराहारीमा विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन् । शिक्षा, मानविकी र व्यवस्थापन सङ्कायमा कक्षा ११ देखि स्नातक तहमा बिहान र दिवा तथा स्नातकोत्तर तहमा पढाई हुँदै आएको छ ।

Leave a Reply