बेनी अस्पतालमा मंगलबार एन्टिजेन्ट परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण देखियो । स्बाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको मध्ये १३ जनामा कोरोना पुष्टी भयो । एकैदिन म्याग्दीमा २४ संक्रमति थपिए ।

संक्रमतिमध्ये अधिकांस सदरमुकाम बेनी आसपासका र केही ग्रामिण क्षेत्रमा बस्ने रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ । कलिला बालबालिकादेखि बृद्धबृद्धा, चिकित्सकसम्म संक्रमति छन् ।

खुल्ला सिमाना, बाहिरी जिल्लाबाट मुस्ताङ भ्रमणका लागि आएकाका पर्यटकहरूबाट सल्किएको कोरोनाको दोस्रो लहरले म्याग्दी जिल्लालाई नराम्रोसँग प्रभावित बनाउने करिब निश्चित जस्तै भएको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

दोस्रो लहरमा संक्रमति हुनेहरु बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताउनुभयो । ‘समुदायस्तरमै कोरोना फैलिएको छ,‘हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ’ प्रमुख लम्सालले बेनीअनलाइनलाई भन्नुभयो ।

अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा कोरोना संक्रमतिको समस्याहरु बल्झिदै गएको छ ।

समुदाय स्तरमै संक्रमण फैलिसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिएपनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमतिको संख्या बैशाख महिनामै १ सयभन्दा बढी हुने अनुमान गरिएको छ ।

नगरपालिकाभित्र संक्रिय संक्रमतिको संख्या २ सय नाघेमा लकडाउन गर्ने प्रावधान रहेको छ । हालसम्म म्याग्दीमा संक्रिय संक्रमतिको संख्या ४६ रहेको छ । संक्रमतिमा लक्षण समेत भेटिएकाले थप समस्या आउन नदिन प्रभावकारी तयारी भने भएको देखिदैन् ।

Leave a Reply