कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा यहाँ सर्वसाधारणबाट हेल्चेक्य्राइँ र लापरबाही तथा सरोकारवाला निकायको उदासीनता भने घट्न सकेको छैन। स्थानीय तह र स्थानीय प्रशासनले न क्वारेन्टिन व्यवस्था गरेका छन्, न त आइसोलेशन नै निर्माण गरेका छन्। गत वर्ष बनाइएका क्वारेन्टिन र आइसोलेशन पनि भताभुङ्ग अवस्थामा छन्।

यहाँको स्थानीय प्रशासन र स्थानीय तह क्वारेन्टिन र आइसोलेशन बनाउन होइन, जन्ती र मलामीको संख्या घटाएर कोरोना रोकथाम गर्ने रणनीति बनाउँदैछ।

कोरोनाको संक्रमण नियन्त्रण र रोकथामका निम्ति निर्माण गरिएको पुरानो संरचना सबै भताभुङ्ग हुँदा नयाँ संरचना निर्माण गरिनुपर्ने हो। तर, म्याग्दीमा आजको मितिसम्म त्यो हुन सकिरहेको छैन। सम्बन्धित निकायसँग जिज्ञासा राख्दा बजेट अभाव भन्ने जवाफ पाइन्छ।

अहिले बेनी अस्पतालमा पाँच शय्या क्षमताको सघन उपचार कक्ष सञ्चालन र सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति गराउने व्यवस्था गरिनुबाहेक अन्य कुनै तयारी छैन।

हिजो मंगलबार एकै दिन म्याग्दीका २४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। १३ जनाको पीसीआर परिक्षण र ११ जनाको एन्टीजेन परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्लामा अहिले ४६ जना संक्रिय कोरोना संक्रमित रहेका जिल्ला स्वास्थ्य कार्यालयका नि.प्रमुख एकनारायण लम्सालले बताए। अस्ति सोमबार २ जना विद्यार्थी र शिक्षक सहित ६ जनामा कोरोना संक्रमण पुष्टी भएको थियो। त्यसैगरी सोमबार पोखरामा उपचारका लागि लगिएका रघुगंगा गाउँपालिकाका ७८ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको थियो।

यसरी जिल्लामा कोरोना संक्रमितको ग्राफ उकालो लागिरहेको छ। कोरोनाको दोस्रो लहर भुसको आगो झैं भित्रभित्रै सल्किँदैगर्दा पनि व्यवस्थापनमा भने औपचारिकता निभाउने बाहेक अन्य कुनै उल्लेख्य तयारी देखिएको छैन।

यहाँ संक्रमणदर उच्च रहेका शहरबाट समेत धमाधम मानिसहरू आइरहेका छन्। काठमाडौं र पोखरा लगायत ठाउँहरूबाट मानिसहरू धमाधम गाउँ फर्किएका छन्। उनीहरूको व्यवस्थापनतर्फ स्थानीय निकायको ध्यान पुगेको छैन।

त्यसैगरी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले शहरबाट गाउँ फर्केका व्यक्तिलाई कालीपुलमा होल्डिङ सेन्टर बनाइ अभिलेख राख्ने र कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय गरेको त छ, तर त्यो निर्णय पनि कार्यान्वयन हुन सकिरहेको छैन।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बुधवार (आज) देखि पुरुष र महिलाका  लागि  १०/१० बेड रहने आइसोलेशन संचालन गर्ने र बेनी अस्पतालमा कम्तीमा ३ वटा भेन्टिलेटरसहित आइसीयू संचालन गर्ने तयारी रहेको बताए।

यस्तो छ स्थानीय तहको अवस्था

यहाँका स्थानीय तहले स्थापना गरेका पाँच/पाँच शय्या क्षमताको कोरोना अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीको तीन महिनाका लागि गरिएको करार सम्झौताको म्याद सकिएको छ। धौलागिरि गाउँपालिकाले भर्ना गरेका चिकित्सकलाई सेवा करार अवधि थप गर्न लागेको छ।

बेनी अस्पतालको ५० शय्या क्षमताको भवन निर्माणमा भएको ढिलाइले सङ्क्रमितको उपचारमा पूर्वाधार अभाव भएको व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

‘भवन निर्माण अलपत्र हुँदा पूर्वाधार अभावले नियमित सेवा प्रवाह र उपचार प्रभावित बनेको छ’, उनले भने, ‘निर्माणाधीन भवनका केही कोठालाई रङरोगन र व्यवस्थापन गरेर कोरोना अस्पताल बनाउने छलफल चलेको छ, तर कोरोना अस्पताल राखेको निहुँमा ठेकेदारलाई बहाना खोज्ने वातावरण नबनोस् भनेर सचेत हुनुपर्नेछ।’

सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालय, बैंक, वित्तीय तथा शैक्षिक संस्थामा मास्क र स्यानिटाइजरको प्रयोग र हात धुने व्यवस्था छैन। जोखिम बढेपनि स्थानीय तह, सुरक्षा निकाय, प्रशासन र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबीच समन्वयमा काम हुन सकेको छैन।

तर, प्रजिअ अधिकारी भने सुरक्षा निकायले पूर्ण रूपमा साथ दिएको र स्थानीय तहहरूसँग प्रभावकारी समन्वय भएको जिकिर गर्छन्। होल्डिङ सेन्टरमा बाहिरबाट आउनेको विवरण दर्ता गरेर सम्बन्धित वडा र पालिकासँग समन्वय गरेर पठाउने व्यवस्था मिलाएको उनी बताउँछन्‌।

कोरोना पुष्टि भएकाको पसल बन्द गराएको र सम्पर्कमा रहेकालाई क्वारेन्टिनमा बस्न लगाएको प्रजिअले बताए। सचेतनाका लागि जिसस प्रमुख देवेन्द्र केसीको उपस्थितिमा बजारमा घरदैलो गरे पनि नागरिकले मापदण्ड पालनामा बेवास्ता गरेका उनको गुनासो रहेको छ।

विवाहमा बाजा नबजाऊ, मलामी पनि धेरै नजाऊ : प्रशासन

विवाह समारोहमा अत्याधिक भीडभाड हुन थालेपछि म्याग्दीमा बाजागाजा बजाउन रोक लगाइएको छ। कोभिड समुदायमा फैलिनसक्ने जोखिमलाई मध्यनजर गरी विवाह समारोहलाई बाजाविहीन गराउन र मृत्यु संस्कारका लागि धेरै मलामी नजान पनि प्रशासनले आदेश दिएको हो।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले विवाह समारोहमा बाजागाजाले भीडभाड हुने भन्दै जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नेगरी बढीमा २५ जना जन्ती मात्रै उपस्थित हुन पाइने व्यवस्था गरिएको हो।

Leave a Reply