म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले बाढीपहिरोबाट पीडितलाई सुरक्षित स्थानमा बनाइरहेको नयाँ घर अन्तिम चरणमा पुगेको छ । ०७७ असार महिनाको अन्तिम साता पहिरोले विस्थापित भएपछि छिमेकी र अस्थायी टहरोमा बिताइरहेका पीडितलाई विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोना अन्तराष्ट्रियले यसै महिनादेखि हस्तान्तरण गर्ने तयारीमा रहेको जनाएको छ ।

बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरूमध्ये जिल्लाभर ४० घरको जिम्मा लिएको मोनाका अधिकांस घर सम्पन्न हुने चरणमा रहेको अध्यक्ष ओमनारायण जुग्जालीले बताए ।

अध्यक्ष जुग्जाली, उपाध्यक्ष सुर्जे भट्टचन, सहकोषाध्यक्ष महेन्द्र खड्का, पुननिर्माण कार्यदलका सदस्य दल शेरपुञ्जा सहितको टोलीले स्थलगत रुपमा समेत अनुगमन गरेको छ ।

जिल्ला विपद् ब्यवस्थापन समिति,स्थानीय प्रशासन र पालिकाहरुसँग समन्वय गरी जग्गाविहिनलाई एकीकृत बस्ती र जग्गा भएका पीडितलाई मापदण्ड अनुसारको घर बनाइरहेको छ ।

पहिरोले ढलाएको घर ठडाउँन विश्वभर रहेका म्याग्देली सहित नेपालीले सहयोग गरेका छन् । एकिकृत बस्तीमा पीडितले गोलाप्रथाको आधारमा घर पाउने छन् ।

जग्गा भएकालाई आफ्नै रोजाईमा र नभएकालाई एकिकृत बस्ती बनाएर घर बनाउँदै गरेको मोनाले एक वटा भान्छा कोठा सहित तीन कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुने घरको लागत ५ लाख खर्चिएको छ ।

बाढीपहिरो पीडितहरूमा खुसीयाली छाएको छ । धवलागिरी गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४–४ वटा घर निर्माण गरिने भएको छ।

स्थानीय प्रशासन र पालिकाहरुसँग घर पुननिर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले सघाइरहेको छ । बिम र मराङमा स्थानीय समुदायको पहलमा संकलित रकमले जग्गा ब्यवस्थापन गरिएको र पालिकाले जग्गामा घर निर्माण गर्न सम्माउने सघाएकाले सहज भएको थियो ।

घर निर्मााणको जिम्मा म्याग्दीमा यूवा निर्माण ब्यवसायी दुर्गा बुढामगरले स्थानीय र बाहिरी जिल्लाबाट समेत मजदुर मगाएर घर बनाइरहेको बताउँदै बैशाख महिनाभित्र सबैजसो घर सकिने बताए ।

८१ वटा बस्तिमा पहिरोका कारण क्षति भएका २४७ र जोखिममा परेका ८२१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो । गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए। मोना बाहेक सबै घर सरकारी अनुदानमा बनाउने बताइएपनि अझै काम सुरु भएको छैन् ।

Leave a Reply