म्याग्दीको धवलागिरी गाउँपालिका–३, मुदीका टेकबहादुर गर्बुजाको देब्रे हात र खुट्टा चल्दैन् । हलचल नगरीकन सुतिरहेका गर्बुजाको मृगौलामा खरावी छ, मुटुको समस्याले पनि निरन्तर सताइरहेको छ ।

चिकित्सकले नियमित चेकजाँचका लागि दिएको समय एक महिना गुज्रिसकेपनि पोखरासम्म पुग्ने आर्थिक र उपचारमा आवश्यक खर्च जुटाउन नसक्दा बेनी नगरपालिका–७,इन्द्रेणी टोलको एउटा साघुँरो कोठामा अलपत्र परेका छन्।

एकबर्ष अगाडी मृगौलामा समस्या देखिएको केही महिनामै मुटुको चालमा गडबडी र प्यारालाइसिसले समेत प्रहार गरेपछि मुडो पल्टिए जस्तै गरी पल्टिएका श्रीमानलाई कुरेर बसेकी मनमायाँले सहयोगका लागि हारगुहार गर्ने गरेकी छन् ।

‘श्रीमानलाई तीनवटा जटिल समस्याले सताइरहेको छ,‘पैसा नहुदाँ डाक्टरले बोलाएको बेलामा पनि अस्पतालमा जान सकेको छैनः मनमायाँले भक्कानिदै भनिन् ।

उनले गतबर्षको चैत्र महिनामा मृगौलामा समस्या देखिएपछि लकडाउनका कारण नियमित उपचारमा समस्या भएपछि थप अन्य रोग थपिएपछि उपचारमा भगवानलाई पुकारेर बसेको बताईन् ।

अहिलेसम्म मनमायाँले ऋणधन गरी श्रीमानको उपचारमा करिब ९ लाख खर्च गरिसकेकी छन् । आफन्त, छिमेकी र चिनजान गरेकाहरुबाट समेत केही सहयोग पाएकाले सहज भएपनि नियमित उपचारमा आर्थिक अभाव भएको उनले बताईन्।

‘दुईवटी छोरीलाई पेटभरी खान त पुग्दैन्, उनीहरुले पनि विरामी बुबालाई उपचारका लागि भेट्न आउनेलाई सहयोग माग्दा मुटु नै छियाछिया भएजस्तै हुन्छ’ मनमायाँले भनिन् । कान्छी छोरी अस्मिताले आफन्तलाई समेत फोन गरी सहयोग माग्ने गरेकी छन् भने जेठी छोरी सुस्मिताले बुबालाई समेत सघाउँछिन् । श्रीमानको उपचारमा आर्थिक अभाव भएपछि मनमायाँ बिचलित भएकी छन् ।

दयनीय अवस्थाबाट भएपनि सहयोग जुटाएर उपचार गराउन लैजान विभिन्न माध्यमबाट स्वदेश तथा विदेशमा रहेका चिनजान भएकालाई याचना गरिरहेकी छन् । सहयोग गर्न चाहनेहरुका लागि पीडितकी श्रीमतिको मनमायाँ गर्बुजाको नं ९८४६९०१२०६ मा सम्पर्क गर्न सक्नुहुनेछ ।

Leave a Reply