नेपालमा कोरोनाको दोस्रो लहर तीव्र फैलिइरहँदा म्याग्दीमा दैनिकजसो संक्रमति थपिने गरेका छन् । शुक्रबार बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र छिमेकी जलजला गाउँपालिकाका थप ७ जना कोभिड १९ संक्रमितमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

योसँगै सक्रिय संक्रमितको संख्या ५५ पुगेको छ । संक्रमतिमा बेनी नगरपालिका वडा नं ५, ६ ७ र ८ वडाका ५ जना छन् भने रघुगंगा गापा १ र छिमेकी जलजला गापाका १ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बेनीअनलाइनलाई जानकारी दिए । उनका अनुसार संक्रमतिमा ४ जना महिला र ३ पुरुष छन् ।

पछिल्लो समय म्याग्दीको ग्रामिण क्षेत्रबाट उपचारका लागि सदरमुकाम बेनी झरेकाहरुमा समेत कोरोना देखिन थालेपछि म्याग्दीमा समुदायस्तरमै कोरोना फैलिएको छ। जिल्लामा बेलैमा यो दर नियन्त्रण गर्न नसके थप जटिलता उत्पन्न हुने चिकित्सकले चेतावनी समेत दिएका छन् ।

दोस्रो लहरमा संक्रिय संक्रमति देखिएका ५५ जनामा ४० भन्दा बढी बेनी नगरपालिका भित्रका रहेकोमा त्यसमा पनि सदरमुकाम बेनी बजार रहेको वडा नं ७ र ८ का करिब ३० जना रहेको स्वास्थ्य कार्यालय प्रमुख लम्सालको भनाई छ । सदरमुकाम बेनीबजारमा धमाधम संक्रमति भेटिन थालेपछि म्याग्दीमा संक्रमणको हटस्पट बेनीबजार बन्ने जोखिम समेत रहेकाले आवश्यकत सर्तकता अपनाउन समेत अपिल गरिएको छ ।

बेनीबजारमा लुकेका कोरोना संक्रमति भएकाले लक्षण देखिएमा तत्काल अस्पतालमा आउन समेत स्वास्थ्य कार्यालयले अपिल गरेको छ । बेनीमा विद्यालय बन्द भएपनि चहलपहल उच्च छ भने जनस्वास्थ्यको मापदण्ड पालना अझै कडाईका साथ हुन सकेको छैन् ।

कोरोना रोकथामका लागि बेनीबजार प्रवेशद्धार कालिपुलमा चेकजाँच कडाई र बाहिरी जिल्लाबाट आउनेलाई लक्षित गरी शुक्रबारदेखि पुनः होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । जिल्लाका सबै स्थानीय तहबाट एक–एक कर्मचारी खटिएकाले यात्रुको अभिलेख राख्ने र संक्रमति भेटिए कन्ट्याक्ट ट्रेसिङ गरिने कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Leave a Reply