बेनी नगरपालिका–५, चिप्लेटीमा सञ्चालित डिम्ब आधारभूत विद्यालयमा स्थानीयवासीको सहयोगमा अक्षयकोष स्थापना भएको छ । कक्षा १ देखि ५ सम्म अध्ययन तथा अध्यापन हुँदै आइरहेको उक्त विद्यालयमा चिप्लेटीसहित विभिन्न स्थानका सहयोगी व्यक्तिहरुद्वारा अक्षयकोषस्वरुप आर्थिक सहयोग गरेका हुन् ।

उक्त विद्यालयमा बेनपा–५, चिप्लेटी निवासी हेमबहादुर खत्रीको परिवारले आफ्ना स्वर्गीय पिता दलबहादुर खत्रीको स्मृतिमा आमा पवित्रा खत्रीको स्वास्थ्यलाभको कामनासहित नगद पाँचलाख ५५ हजार पाँचसय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । यसैगरी धवलागिरि गाउँपालिका–७, ताकम धारापानी निवासी दिर्घबहादुर थापाले एकलाख ५० हजार एकसय ५५ रुपैयाँ सहयोग गरेको विद्यालयले जनाएको छ ।

त्यस्तै चिप्लेटी निवासी विद्यालयका पूर्व प्रधानाध्यापक गणेशबहादुर कार्कीले ५० हजार पाँचसय ५५, मनकुमारी खत्रीले ५० हजार पाँचसय ५५ र बेनपा–४, तातोपानी निवासी गणेशबहादुर बानियाँले ५० हजार एकसय ५५ रुपैयाँ विद्यालयलाई सहयोग गरेका छन् ।

यसैगरी विद्यालयका संस्थापक स्व. पोषकबहादुर खत्रीका छोरा नगेन्द्रबहादुर खत्रीले ५० हजार र स्व. चन्द्रबहादुर कार्कीको सम्झनामा उनकी धर्मपत्नी सन्तु तथा छोरी गीता कार्कीले ५० हजार सहयोग गरेको विद्यालयका प्रधानाध्यापक नारायण उपाध्यायले जानकारी दिनुभयो ।

त्यसैगरी जनकल्याण माध्यमिक विद्यालय पुलाचौरका पूर्व प्रधानाध्यापक खेमराज पौडेलले ११ हजार एकसय ११ र पुलाचौर निवासी समाजसेवी ईन्द्रप्रसाद श्रेष्ठले पाँचहजार एकसय ५० रुपैयाँ आर्थिक सहयोग गरेको प्रअ उपाध्यायले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत आर्थिक रुपमा विपन्न तथा गरिब र जेहेन्दार विद्यार्थीहरुको अध्ययनमा सहयोग गर्ने उद्देश्यले विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेको विद्यालयले जानकारी दिएको छ ।

विद्यालयमा सबैभन्दा धेरै खत्री परिवारबाट आर्थिक सहयोग गरी अक्षयकोषको स्थापना भएको जनाइएको छ । २०४१ सालमा स्थापना भएको विद्यालयमा हाल ४२ जना विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन्भने दरबन्दीमा २, निजी स्रोतका ३ जना शिक्षक र एकजना कार्यालय सहयोगी कार्यरत छन् ।

Leave a Reply