पाँचदशक अगाडीसम्म सदरमुकाम बेनीको प्रमुख ब्यापारिक केन्द्र मानिने बेनी नगरपालिका,८ तल्लो कालिपुल बजार अहिले सुनसान जस्तै छ । म्याग्दी र मुस्ताङ आउने पर्यटकले खचाखच भरिने कालिपुल बजारलाई पुनःजगाउन स्थानीयले विभिन्न योजना बनाएपनि अहिलेसम्म सफल हुन सकेको थिएन् ।

स्थानीयबासीको सक्रियता र आफ्नो क्षेत्रमा विनियोजित बजेटलाई कालीपुल स्थित कालीगण्डकी नदीमाथी निर्मित एतिहाँसिक कालीपुल झोलुङ्गे पुलको टावरल्वक माथी दुई चरणमा ७ लाख खर्चेर फलामको भर्ञ्याङ राखी दृष्याअवलोकन केन्द्र बनाउन लागेका हुन् ।

स्थानीय यूवा सुरेश राम्जालीले गतबर्ष वडामार्फत विनियोजन भएको ३ लाख बजेटमा काम गर्न आउनेले संरचना लथालिङ्ग बनाएरपछि स्थानीयकै सक्रियतामा वडाको बजेटलाई सदुपयोग गरिएको बताए ।‘यहाँ जमघट हुन मिल्ने गरी संरचना बनाइरहेका छौ,‘आफ्नो ठाउँमा जे सम्भव छ त्यही बनाउने हो,बाहिरबाट काम गर्न आउनेले राम्रो काम गरेनन्’ उनले भने ।

कुल ५ लाख बजेटमा विभिन्न शिर्षकमा काटेर जम्मा ४ लाख २५ हजार प्राप्त गरेको स्थानीयबासीको भनाई छ । कालिपुल टोलसुधार समितिले नै अगुवाई गरी बनाउन लागेको संरचनालाई ब्यवस्थित गर्न स्थानीयले अनुगमन समिति समेत बनाउने तयारीमा छन्। सामान्यतया भ्यू टावर भन्नेवित्तिकै सूर्योदय, सूर्यास्त, हिम शृङ्खला वा कुनै रमणीय प्राकृतिक दृश्य हेर्ने उपयुक्त ठाउँ भन्ने बुझिने भएकाले पनि यो भ्यू प्वाइन्टको आलोचना भइरहेको छ।

तर, स्थानीयबासीले जिल्लाभित्र करिब एक मात्रै ‘स्कटीज व्रिज’ को प्रचारप्रसारका साथै कालिगण्डकी नदीको अवलोकन सहित रमणीय दृश्य अवलोकनका लागि उपयुक्त हुने बताएका छन् ।अग्ला डाँडामा लाखौं खर्चिएर बनाइएको भ्यू टावरभन्दा फरक भएपनि यसलाई स्थानीयले आवश्यकता महसुस गरी माग गरेपछि बजेट विनियोजन गरिएको वडा अध्यक्ष रामकृष्ण बराईलीले बताए ।

‘यो भ्यू टावर नै होईन्,‘यहाँ आवश्यक र सम्भावना भएकोमा वडाको बजेट विनियोजन गरिएको हो’ अध्यक्ष बराईलीले भने । उनले करिब ६३ बर्ष अगाडी बनेको झोलुङ्गे पुल’को महत्वका बारेमा समेत अवलोकनकर्तालाई जानकारी गराउने र गर्मीको समयमा बेनीबजार आसपासका क्षेत्रबाट अवलोकन गर्न जानेलाई बस्ने स्थान बनाइएको बताए ।

बि.स २०१५ सालमा भारतको सुनौलीबाट भरियाले बोकेर ल्याएको फलामका ट्रष्टबाट निर्मित बेलायती प्रविधीमा ‘स्कटीज व्रिज’ नेपालमै करिब दुई दर्जन पनि छैनन् । यता सामाजिक सञ्जालमा भने अनावश्यक ठाउँमा भ्यू टावर बनाइएको भन्दै तिब्र आलोचना भइरहेको छ ।

Leave a Reply