विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट बच्नका लागि पत्रकारलाई मास्क र स्यानीटाईजर वितरण भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीबाट आइतबार जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीलाई स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो ।

पत्रकारलाई समाचार सङ्कलन तथा कार्यस्थलमा खटिएर काम गर्ने क्रममा आवश्यक सुरक्षा सतर्कता अपनाउन मास्क र स्यानीटाईजर वितरण गरिएको पत्रकार महासंघ म्याग्दी शाखाले जनाएको छ ।

महासंघको पहलमा म्याग्दीको बेनी नगरपालिका–७, मङ्गलाघाट निवासी हाल फेवा सिटी हस्पिटल पोखरामा कार्यरत हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. दिवश कटुवाल क्षेत्रीको सहयोगमा पत्रकारलाई मास्क र स्यानीटाईजर वितरण गरिएको छ । यसअगाडी समेत डा. कटुवालले म्याग्दीबाट गम्भीर चोट लागेर पोखरामा पुगेका विपन्नको उपचारमा समेत निशुल्क सेवा सहित आर्थिक सहयोग गरेका थिए ।

पछिल्लो समय नयाँ भेरियन्टसहितको कोभिड–१९ संक्रमणको जोखिम उच्च रहेको अवस्थामा पत्रकार तथा सञ्चारकर्मीलाई जनस्वास्थ्यका सामग्रीस्वरुप मास्क र स्यानीटाईजर वितरण गरिएको हो । कोरोना भाइरसको विरुद्ध समाचार सङ्कलन गरी सर्वसाधारण, नागरिकलाई सुसूचित गराउने क्रममा पत्रकारलाई आवश्यक पर्ने मास्क, स्यानीटाईजरलगायत स्वास्थ्यका सामग्री उपलब्ध गराइएको छ ।

संक्रमणको जोखिमकाबीच सञ्चार क्षेत्रमा क्रियाशील पत्रकारलाई मास्क र स्यानीटाइजर वितरण गरिएको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेलले बताए । पत्रकारलाई ५० पिसका दरले एक बट्टा मास्क र ५० एमएल स्यानीटाईजरको एकएक वटा सिसी वितरण गरिएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

स्वास्थ्य सामग्रीहरु महासंघका अध्यक्ष पौडेल र उपाध्यक्ष हरिकृष्ण गौतमले पत्रकारलाई वितरण गरेका थिए । पत्रकार महासंघले पहिलो चरणमा फ्रन्टलाइनमा खटिएर रिपोर्टिङ गर्ने पत्रकार तथा सञ्चारगृहमा काम गर्ने सबैलाई स्वास्थ्य सामग्री वितरण कार्य सुरु भएको जनाएको छ । यसैगरी दोस्रो चरणमा पत्रकार महासंघका सबै सदस्यहरुलाई मास्क र स्यानीटाइजर वितरण गरिनेछ ।

Leave a Reply