म्याग्दी नदीको कटानबाट जोगाउन निर्माणधिन अवस्थामा रहेको संरचनामा लापरवाही भएको स्थानीयले गुनासो गरेका छन् । बेनी नगरपालिका-७, मंगलाघाट बजार संरक्षणको क्रममा बनाइएको मेसिनरी वालमा लापरवाही भएको स्थानीयबासीले गुनासो गरेका हुन् ।

पुरानो मंगलाघाट बजार नदी कटानको जोखिममा परेपछि निर्माणधिन अवस्थामा रहेको ५० मिटर मेसिनरी वालमा आवश्यक पर्ने निर्माण साम्रागीको प्रयोगमा ठेकेदार कम्पनीबाट हेलचेक्राई भएको स्थानीय यूवा रमेश फगामीले बताए । ‘सम्बन्धित निकायको निगरानी कम छ,‘काम गर्ने मजदुरले समेत मापदण्ड अनुसार काम गरेका छैनन्’ फगामीले भने।

आइतबार मेसिनरी वाल निर्माणको क्रममा प्रयोग भएको गिटी, बालुवा र सिमेन्ट सहितको निर्माण साम्रागी मापदण्ड अनुसार नभेटिएको अर्का स्थानीय खिमबहादुर छन्त्यालले बताए ।

उनका अनुसार ठेकेदारका प्रतिनिधिले सरकारी प्राविधिक नभएको मौकामा हतारहतारमा काम गर्ने, तोकिए अनुसारको निर्माण साम्रागी प्रयोग नगर्ने गरेको पाइएको बताए । ‘स्थानीयको निगरानीले मात्रै गुणस्तरीय काम हुदैन,‘सरकारी निकायबाट समेत निरन्तर निगरानी हुनुपर्छ’ छन्त्यालले भने ।

रूपाताल संरक्षण एकीकृत विकास परियोजनामार्फत मंगलाघाट क्षेत्रमा १ सय मिटरमा संरचना भइरहेको छ । बजार संरक्षणका लागि पर्खाल लगाउने नाममा जथाभावी नदी किनाराका ढुंगा र बालुवा निकाल्दा जोखिम हुने भएकाले स्थानीयले निरन्तर निगरानी गर्ने गरेका छन् ।

यता रूपाताल परियोजनाले भने मापदण्ड अनुसार संरचना बनाउन स्थानीयलाई समेत निरन्तर निगरानी गर्न अनुरोध गरिएको जनाएको छ । स्थानीयको गुनासोका आधारमा ठेकेदारलाई समेत सचेत बनाइएको परियोजनाले जनाएको छ । परियोजना मार्फत कश्यप निर्माण सेवा एण्ड सप्लायर्स कम्पनीलेकालिगण्डकी र म्याग्दी नदीको जोखिम मानिएको स्थानमा संरक्षणको काम भइरहेको छ ।

Leave a Reply