बिहिबारदेखि मालपोत कार्यालय म्याग्दीको सेवा ठप्प भएको छ । मालपोत कार्यालयको अनलाईन सिस्टममा देखिएको समस्या समाधान नहुदाँ सेवा प्रवाह प्रभावित भएको हो। चारदिन देखि सेवाका लागि ग्रामिण क्षेत्रबाट आएका सर्वसाधारण बेनीबजारमै अलपत्र परेका छन् ।

इन्टरनेट सेवाप्रदायक संस्थाले मर्मतमा ढिलाई गर्दा सेवा प्रवाहमा समस्या आएको कार्यालय प्रमुख कृष्णबहादुर कार्कीले बताए । ‘तीनवटा इन्टरनेट सेवाप्रदायले मर्मतमा ढिलासुस्ती गरेका छन्,‘अफलाइनमा गर्न मिल्ने काम भइरहेको छ,‘सर्भर डाउन हुने कारणले धेरै काम रोकिएको छ’ प्रमुख कार्कीले भने ।

सेवाग्राहीलाई सिस्टम चलेपछि काम सुरु गर्ने बताउँदै प्रमुख कार्कीले इन्टरनेट सेवा दिइरहेकालाई लिखित तथा मौखिम रुपमा पटकपटक जानकारी गराएको बताए ।

उनका अनुसार वल्ड लिंक, सुविसु र नेपाल टेलिकमको इन्टरनेटमा खरावी आएपनि सम्बन्धित निकायले मर्मतमा ढिलासुस्ती गरेको गुनासो कार्यालयले गरेको छ । यता सेवाग्राहीले तीनदिनसम्म काम नभएको भन्दै आक्रोश पोखेका छन् । अनलाइनमार्फत जग्गा पास गर्ने, रोक्का, फुकुवा अनलाइन प्रणालीबाट हुने काम बन्द भएको छ ।

मालिका गाउँपालिका–१, निस्कोटकी धमकुमारी सुनारले बिहिबारदेखि कार्यालय धाउने गरेपनि काम नभएको गुनासो गरिन् । जिल्लाका ग्रामिण क्षेत्रबाट आएका सेवाग्राहीले हरेक दिन लक्षण सहितका संक्रमति थएिको बेनीबजारमा असुरक्षित महसुस गरेको बताउँदै अवरुद्ध सेवा सुधारको माग सहित जिल्ला प्रशासन कार्यालयमा प्रजिअ गणेशबहादुर अधिकारीको समेत ध्यानार्कषण गराएका थिए ।

सेवाग्राहीले समस्याका बारेमा पहिल्यै जानकारी भएको भए अर्को दिन आउने भएपनि कर्मचारीबाटै बेवास्ता भएको गुनासो गरे । यता कार्यालय सोमबारसम्ममा समस्या समाधानका लागि प्रयास भइरहेको जनाएको छ ।

Leave a Reply