म्याग्दीको मंगला गाउँपालिका (साविक कुहुँ गाविस-८) तुसारेपानी का एक कोरोना संक्रमतिको उपचारको क्रममा पोखरामा मृत्यु भएपछि गाउँमा थप सतर्कता अपनाइएको छ।

तुसारेपानी आसपासको क्षेत्रलाई सिल गर्ने तयारी भइरहेको छ। एक्कासी विरामी भएपछि हेलिकप्टरबाट उपचारका लागि पोखराको चरक मेमोरियल अस्पतालमा लगिएको ७६ बर्षिय बृद्धको मंगलबार विहान मृत्यु भएपछि गाउँमा रहेका परिवारका अन्य सदस्यका बारेमा समेत जानकारी लिइएको  गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बेनीअनलाइनलाई बताउनुभयो ।

जनस्वास्थ्यको मापदण्डलाई मध्यनजर गरी मृतकको घर आसपासका क्षेत्रमा घुलमिल नहुन, आवश्यक परेको सहयोग गर्न जनस्वास्थ्यको मापदण्डको पालना गर्न, गाउँबाट बाहिर नजान र बाहिरबाट समेत गाउँमा नआउने अपिल गरिएको अध्यक्ष रोकाले बताउनुभयो।

‘कोरोनाबाट जोगिन आवश्यक सतर्कता अपनाउन गाउँलेलाई अनुरोध गरेको छु,‘थप संक्रमण फैलिन नदिन संक्रमतिको घरपरिवारसँग घुलमिल भएकालाई सुरक्षित बसिदिन आग्रह गर्दछु’ अध्यक्ष रोकाले भन्नुभयो। कोरोनाको लक्षण देखिएकालाई सम्पर्कमा आउन समेत अध्यक्ष रोकाले अनुरोध गर्नुभयो ।

स्थानीय यूवा क्लवमार्फत गाउँमा थप सर्तकता अपनाउदै छिमेकी पौयूपाटा, कुहुँ र थाईबाङबाट आवतजावत गर्ने मार्ग बन्द गरी गाउँमा घरभित्रै बस्न अपिल सहित वडाका जनप्रतिनिधिलाई समेत परिचालन गरिएको छ ।

मृतकका छोरालाई समेत अस्पतालमै कोरोना पुष्टी भएको थियो भने घरमा श्रीमति र काम गर्ने एकजनालाई समेत ज्वरो सहित कोरोनाको लक्षण देखिएको जनाइएको छ । संक्रमतिको घरमा आवश्यक पर्ने सहयोगरु स्थानीय यूवामार्फत गरिने छ । संक्रमतिको घर आसपासका बासिन्दालाई त्रसित नहुन समेत गाउँपालिकाले अपिल गरेको छ ।

 

Leave a Reply