बेनी अस्पतालमा संकलन गरिएको ४२ जनाको स्बाबमध्ये मंगलबार २९ जनामा कोरोना पुष्टी भयो । संक्रमतिमध्ये बेनी नगरपालिका भित्रका १७ जना छन् । आजको कोरोना रिपोर्टमा देखिएका कुल संक्रमितमध्ये ५८.६ प्रतिशत बेनपाका मात्रै छन्।

आइतबार २० जनामा कोरोना संक्रमित भएकोमा बेनी नगरपालिका सहित जिल्लाका पाँच स्थानीय तह ठेगाना भएकाको विवरण सार्वजिक भयो । जिल्लाका संक्रमतिमध्ये हरेक रिर्पोटमा आधाभन्दा बढी सदरमुकाम भित्रैका हुन्छन्।

पछिल्लो यो दुई विवरणलाई हेर्दा आगामी दिन म्याग्दीका कोरोनाको अवस्था निकै भयावह हुने संकेत गरेको छ ।

जिल्लाभरका कुल सक्रिय संक्रमति मध्ये आधाभन्दा बढी बेनीमै छन् । बेनी जिल्लाको जनघनत्व भएको शहर भएकाले यहाँ कोरोना संक्रमणको जोखिम अत्यधिक छ । यही कोरोनाका बारेमा बुझ्ने सचेत नागरिक पनि यही छन् ।

मास्क लगाउने, नाकमा हात नलैजाने, जथाभावी नथुक्नेजस्ता सामान्य स्वास्थ्य सतर्कताले मात्रै पनि कोरोनाको संक्रमण रोक्न ठूलो मद्दत गर्छ । तर, पढेलेखेका शिक्षित र शहरियाहरूमा नै यी गलत व्यवहार व्यापक देखिन्छ । सरकारीसँगै कोरोनाबिरुद्ध जुध्न नागरिकका तर्फबाट हुनुपर्ने भूमिका पनि निराशाजनक देखिन्छ ।

प्रहरीले सदरमुकाम बेनीमा मास्क नलगाउनेलाई समात्न होल्डिङ जोन नै स्थापना गर्नुपर्ने अवस्थाको प्रमुख कमजोरी नागरिकस्तरबाटै भएको देखिन्छ ।

आइतबारमात्रै प्रहरीले ६६ जना मास्क नलगाउनेलाई समातेर जरिवाना तिराएको छ। मास्क नलगाउनेमा निजामति कर्मचारीदेखि सर्वसाधारण, राजनीतिक दलका कार्यकर्तासम्म छन् । संक्रमण दर उच्च रहेको यस क्षेत्रमा अझै पनि मानिसहरू कोरोनाबाट जोगिन आवश्यक मात्रामा सतर्क नरहेको देखिन्छ ।

बजारको भीडभाड, कतिपय कार्यालयमा भइरहेको ठेलमठेल, ग्रामिण क्षेत्रबाट आएका सेवाग्राहीहरुले समयमै सेवा नपाउँदा बजार क्षेत्रमै अल्झिनुपरेको छ । बेनीबजारमा हिजोआजको भिडलाई हेर्दा यहाँ मेला लागेजस्तै महसुस हुन्छ ।

यी सबैले कोरोना संक्रमितको संख्या अझै बढ्ने स्पष्ट देखिँदै छ ।मानिसहरू चाडपर्वका लागि छुट्टी भएजस्तो गरेर किनमेलका लागि भीड गरिरहेका छन् ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले विवाह समारोहमा अत्याधिक भिडभाड हुन थालेपछि बागाजागा बजाउन रोक, बढीमा २५ जना जन्ती र मलामीलाई समेत २५ जनामा सिमित गर्ने निर्णयको नागरिकस्तरबाटै उल्लंघन भइरहेको छ ।

मास्क लगाउने, नाकमा हात नलैजाने, जथाभावी नथुक्नेजस्ता सामान्य स्वास्थ्य सतर्कताले मात्रै पनि कोरोनाको संक्रमण रोक्न ठूलो मद्दत गर्छ भन्ने धेरैलाई जानकारी नै छ ।

सरकारले दिएको निर्देशन पालना गर्ने, आफ्नो स्वास्थ्य जोगाउने, भौतिक दूरी कायम गर्ने, हात धोइरहने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजानेजस्ता जिम्मेवारी नागरिकले पूरा गर्नुपर्छ । म्याग्दीमा नागरिकस्तरमा मास्कको प्रयोग नगर्नेको संख्या न्यून भएपनि सतप्रतिशतले मास्कको प्रयोग गर्न सकेमा कोरोना संक्रमणबाट जोगिन मदत पुग्छ ।

कोरोनाको रोकथामा जिल्लास्तरमा भइरहेको सरकारी तयारी सुस्त भएमा आलोचना गर्नुपर्छ तर आफूले नागरिक कर्तव्य निर्वाह पनि गर्नुपर्छ।  सरकारी निर्णय सरकारकै संरक्षणमा रहेकाले समेत उल्लंघन गरेको देखिन्त तर नागरिकले पनि त्यसै गर्ने हो भने समस्या थप्ने काम मात्रै हुन्छ।नागरिकले साथ दिएमा मात्रै कोरोना नियन्त्रण अभियान सफल हुन सक्छ ।

संकटको यो घडीमा ज्यान जोगाउन सके रमाइलो गर्ने क्षण जीवनमा पछि पनि आउ“छ तर केही समयका लागि यस्ता इच्छा त्याग्नुपर्छ भन्ने सोच नहुँदा समस्या विकराल बन्दै गएको हो ।

कोरोना संक्रमणले अस्तब्यस्त हुने अवस्थामा आफ्नो क्षमताले भ्याएसम्म समस्यामा परेकालाई पनि सहयोग गर्नु नागरिकको कर्तब्य हो । सबैको साथ र सहयोग भएमा कोरोनाबाट जोगिन सकिन्छ । बेनी साप्ताहिक समाचारपत्रबाट साभार

 

Leave a Reply