कोरोना संक्रमण र लक्षणसहितका संक्रमितहरूको संख्या बढिरहेका बेला बेनी नगरपालिका-४, तातोपानी बजारमा मंगलबार ४ जनामा कोरोना पुष्टी भयो । हालसम्म एन्टिजेन्ट परीक्षण सहित तातोपानी बजारमा मात्रै १४ जनामा कोरोना पुष्टी भएको छ ।

जिल्लाभित्र सदरमुकाम बेनीबाहिर एकै ठाउँमा धेरै संक्रमति भेटिएको तातोपानी बजार नै हो । पछिल्लो एक साता यताको विवरणमा तातोपानी बजारमा धमाधम कोरोना पोजेटिभ देखिन थालेको छ ।

रुघा र ज्वरो देखिएपछि बेनी अस्पतालमा उपचारका लागि पुगेका बिरामी देखि कन्ट्राक टेसिङमा परेकामा कोरोना संक्रमण देखिएसँगै तातोपानी बजार नै हटस्पट’ बन्ने जोखिम बढेको छ ।

तातोपानी कुण्डमा स्नान गर्न जिल्ला बाहिरबाट आएका बिरामीहरु बसेको होटलका सञ्चालकमा देखिएको कोरोना विस्तारै समुदायस्तरमै फैलिने जोखिम बढेपछि स्थानीयलाई सतर्कता अपनाउन अपिल गरिएको छ ।

कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अझै बजारभित्र भएकाले संक्रमतिको संख्या थप बढ्न सक्ने देखिन्छ । बेनी नगरपालिकाका भित्रका संक्रमतिमा बेनपा ७ र ८ बाहेक अधिकांस तातोपानी बजारकै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए ।

‘बेनपाको संक्रमणको अवस्था हेर्दा निकै गम्भीर मोडमा प्रवेश गर्ने जोखिम छ,‘जनस्तरबाटै सतर्क नभए स्थिती नियन्त्रण बाहिर जाने जोखिम पनि उत्तिकै छ’ लम्सालले भने । तातोपानीमा धेरै घुलमिल हुनेहरुमा कोरोना देखिएको छ।

तातोपानीमा गत महिनासम्म जिल्ला बाहिरबाट ठूलो संख्यामा बिरामीहरु भित्रिएकाले समेत बाहिरी जिल्लाबाट आएका बिरामीबाट कोरोना संक्रमण फैलिएको हुनसक्ने कुण्ड ब्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताए ।
‘बजारबासीलाई सचेत हुन अपिल गरेका छौ,‘लक्षण देखिएपछि तत्काल स्वास्थ्य चौकीमा जान समेत अनुरोध गरिएको छ’ उनले भने ।

संक्रमतिको सम्पर्कमा रहेकालाई ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न समेत स्थानीयले अनुरोध गरेका छन् । विभिन्न जिल्लाबाट तातोपानी कुण्डमा रोग पखाल्न आएकाहरुबाट संक्रमण फैलिएको पुष्टी हुने आधार नभएपनि कुण्डको भिडभाडले कोरोना फैलिएको अनुमान कुण्ड ब्यवस्थापन समितिको छ ।

बेनीबजार र तातोपानीमा समुदायस्तरमै कोरोनाको संक्रमण फैलिएकाले जनस्वास्थ्यको मापदण्ड अनिवार्य पालना गर्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ ।

एन्टिजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने भएकाले समुदायस्तरमै चेकजाँच गर्दा नतिजा भयावह देखिने स्वास्थ्यका जानकारहरु बताउँछन् । जिल्लामा बेनी नगरपालिका सहित ५ वटै गाउँपालिकाभित्र कोरोना संक्रमति छन् । मंगलबारसम्म ९९ जना संक्रिय संक्रमति रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply