कोरोनाको दोस्रो लहरले मुलुक आक्रान्त भइरहेका बेला कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकखण्डमा पर्ने हिमाली जिल्ला मुस्ताङको थासाङ गाउँ पालिका वडा नं २ खन्तीमा हिजो (मंगलवार) देखि कालोपत्रेको काम शुरु भएको छ ।

मुस्ताङको कोबाङदेखि कैकुखोला सम्मको साढे १५ किलोमिटर सडक खण्डमध्ये खन्तीबाट मंगलवारदेखि कालोपत्रे गर्न लागिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाको प्याकेज नं ३ को ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका इन्जिनियर सचिन शर्माले जानकारी दिए ।

ठेकेदार कम्पनि शर्मा गजुरमुखी जेभीका इन्जिनियर शर्माले दिएको जानकारी अनुसार रु ५५ करोड ३० लाख १६ हजार ६०१ मा सडक कालोपत्रेको जिम्मा लिएको हो ।

सो सडकमा आक्सपाल्ट प्रविधिको कालोपत्रे हुने उनले बताए ।इन्जिनियर शर्माका अनुसार साढे १५ किलोमिटर कालोपत्रे र १३ सय मिटर ढलानको जिम्मा लिएको निर्माण कम्पनिले अहिलेसम्म ७० प्रतिशत भौतिक प्रगति गरेको छ ।

आगामी असार मसान्तसम्म ठेक्काको काम सक्ने लक्षका साथ कालोपत्रेको काम शुरु गरिएको उनले बताए ।
सडकलाई दुई लेन फराकिलो बनाइएको छ ।

घुम्ती तथा ग्रेड सुधार र नाली निर्माणको काम समाप्त भैसकेको उहाँले जानकारी दिए ।शर्माका अनुसार सडका साढे ८ मिटर फराकिलो गरी कालोपत्रे गरिदै छ ।त्यसैगरी शर्मा गजुरमुखीले नै ठेक्का लिएको प्याकेज नं २ को जलथलेदेखि कैकु सम्मको सडकमा पनि कालोपत्रेको तयारी गरिएको छ ।

म्याग्दी र मुस्ताङको सीमानामा पर्ने बादरजुङ,काभ्रे, घोप्टे भीर र रुप्से झरना क्षेत्र बाहेकका स्थानमा सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनी शर्मा गजुरमुखी जेभीले जनाएको छ ।

विसं २०६४ सालमा नेपाली सेनाले ट्याक खोलेको ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा २०७४ सालदेखि ४ प्याकेजमा स्तरोन्नतिको काम भैरहेको छ । पहिलो प्याकेजमा पर्ने गलेश्वर–बेगखोला सम्मको १६ किलोमिटर सडकमा पनि कालोपत्रेको तयारी भैरहेको सहायक ठेकेदार कम्पनि ओमकारेश्वर कन्ट्रक्सनका प्रमुख अमृत दाहालले बताए ।

Leave a Reply