स्वास्थ्य सुरक्षा मापदण्ड बिपरित काम गरेको आरोपमा प्रहरीले बागलुङका एक जनालाई नियन्त्रणमा लिएको छ । मापदण्ड विपरित रिर्जभ गरिएका तीन सवारी साधन पनि नियन्त्रणमा लिएको छ ।

बागलुङको काठेखोला गाउँपालिका वडा नं. १ खहरेबाट बागलुङ नगरपालिका वडा नं. ८ सिगाना जान हिँडेको विवाहको २ बस र १ जिप प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक कृष्णबहादुर पल्लिमगरले बताए । कोरोना संक्रमणको बेला मापदण्ड उल्लंघन गर्ने र निशेधाज्ञा अटेर गरेपछि नियन्त्रणमा लिनु परेको उनले जानकारी गराए ।

बुधबार बिहान खहरेबाट २ बस र २ वटा जिप रिर्जभ गरेर जन्ती हिडेको थाहा पाएपछि प्रहरीले उनीहरुलाई नियन्त्रण प्रयास गरेको थियो ।

प्रहरी गएको थाहा पाएपछि बस रोकेर जन्ती हिँडेर गएको अवस्थामा बस भेटिएका थिए । दुलाहाका लागि एउटा जिप छाडेर अरु सवारी नियन्त्रणमा लिएको हो । दुलाहाका बाबु लाल बहादुर केसी पनि प्रहरीको नियन्त्रणमा छन् । उनलाई प्रशासनले स्पष्टीकरण सोध्नेछ ।

२५ जनाभन्दा बढी मानिस जम्मा हुनै नपाउने प्रावधानमाथी निशेधाज्ञा लागेको स्थानमा आदेश उल्लंघन भएकोले नियन्त्रण गर्नुपरेको प्रहरीको भनाई छ । सरकारले पछिल्लो चरणमा बिबाहमा पाँच देखि सातजना मात्रै उपस्थिति भएर विवाह गर्न निर्देशन गरेको छ ।

जन्ती जाँदा भीडभाड भएको र स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाई उनीहरुले विवाह गरेको प्रहरीको आरोप छ । प्रहरी निरिक्षक श्रीराम भट्टको नेतृत्वमा दुलही पक्षको घर सिगानामा प्रहरी पठाइएको थियो । प्रहरी पुगेपछि सबै भागाभाग भएका थिए ।

प्रहरीका अनुसार बिबाहमा केटा पक्षले तीन बस र तीन जीपमा झण्डै २ सय जन्ती लगेका थिए । भागेपछि थोरै मानिस मात्रै देखेर प्रहरी फर्केको थियो । नियन्त्रणमा रहेका केसीबाट थप अनुसन्धान अगाडि बढाइने पल्लीमगरले बताए । विवाहका लागि वडा कार्यालयले पनि मापदण्ड अनुसार मात्रै गर्न अनुमति दिएको थियो । dhorpatannews.com

Leave a Reply