नेपाल कम्युनिष्ट पार्टी (एमाले) म्याग्दीले कोरोना भाइरस संक्रमितको उपचार तथा व्यवस्थापनमा सहयोग गर्ने जनाएको छ । नयाँ भेरिएन्टसहित कोरोनाको संक्रमण बढ्दै गएकाले संक्रमित बिरामीको उपचार गर्ने ठाउँका लागि पार्टी कार्यालय भवन क्वारेन्टाइन र आईसोलेसन वार्ड निर्माण गर्न उपलब्ध गराउने भएको हो ।

एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बुधबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) म्याग्दीलाई पत्रमार्फत पार्टी कार्यालय भवन उपलब्ध गराउने बताउनुभएको छ ।

उहाँले कोभिड–१९ संक्रमितलाई राखेर उपचार गर्ने ठाउँको अभाव भएमा क्वारेन्टाइन र आईसोलेसन निर्माण गर्नका लागि बेनी नगरपालिका–२, हाँडेभीरमा रहेको एमाले जिल्ला पार्टी कार्यालयको भवन उपलब्ध गराइने जानकारी दिनुभयो ।

जिल्लामा दैनिकजसो कोभिडका संक्रमितहरु बढ्दै गैरहेको अवस्थामा आवश्यक परेमा पार्टीमा आबद्ध सदस्यहरुको सवारीसाधनलाई समेत उपचार, रोकथाम र नियन्त्रणका लागि उपलब्ध गराइने पनि एमाले अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

कोरोना महामारी नियन्त्रण गर्न सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड र जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञाको पूर्ण रुपमा पालना गर्नु सबैको कर्तव्य रहेको बताउँदै एमाले म्याग्दीले विपत्तिको रोकथाम, नियन्त्रण र सहयोगका लागि सिङ्गो पार्टी पङ्ति प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

हालसम्म म्याग्दीमा १ सय १० जना सक्रिय कोरोनाका संक्रमितहरु रहेकोमा तीमध्ये अधिकांश बेनी नगरपालिकाका संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । अधिकांश संक्रमितहरुको बसोबास पनि सदरमुकाम बेनीमै रहेको बताइएको छ । जिल्लामा ४ सय २ जनाको परीक्षण गरिएकोमा ३ सय ७६ जनाको पिसिआर तथा २६ जनाको एन्टीजेन परीक्षण गरिएको छ ।

बेनीबजारसहित नगरपालिका क्षेत्रमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि बुधबार राती १२ बजेदेखि नगरको सबै वडामा निषेधाज्ञा जारी गरिएको छ । यसैगरी पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाले पनि वडा तहमा संक्रमित बढेपछि अत्यावश्यक बाहेकका नियमित सेवाहरु अर्को सूचना नभएसम्म बन्द गरिएको बताएको छ ।

दैनिक रुपमा कोरोना संक्रमणको दर बढ्दै गैरहेको हुँदा सर्वसाधारण नागरिकहरुलाई स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरिएको छ । संक्रमणको जोखिम रहेकाले धेरै भीडभाड भएको ठाउँमा नजान, अनिवार्य रुपमा सबैले मास्क लगाउने, पटकपटक साबुनपानीले हात धुन वा स्यानीटाइजरको प्रयोग गर्न स्वास्थ्यकर्मीले बताएका छन् ।

Leave a Reply