त्तर फर्केर हेर्दा दन्ते लहर जस्तै देखिने हिमाल । तलतिर हेर्‍यो भने बेसीं फाँट र म्याग्दी खोलाको दृश्य । पुस, माघमा सेताम्य हिउँ । चैत, बैशाखमा ढकमक्क लालीगुराँस । ग्रामीण बस्तीहरुको सौन्दर्यसहित तरेली परेका पहाडको सुन्दरता नियाल्न पाइने म्याग्दीको बराङ्जामा पर्ने झाँक्रीपानीको बारेमा जानकारी सायद कमैलाई होला ।

ग्रामीण बस्तीको सुन्दर दृश्य अनि हिमालको साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बिहानीपख सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । हरियाली वनजङ्गल, फराकिलो डाँडाकाँडा र मनोरम दृश्यावलोकनका साथै म्याग्दीको अधिकांश भू–भागहरु देखिने झाँक्रीपानीको वर्णन गरि साध्य छैन । पुस, माघमा पर्ने हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् ।मंगला गाउँपालिका–३, बराङ्जाको झाँक्रीपानी पछिल्लो समय पर्यटकीय गन्तव्यका लागि आकर्षणस्थल बन्दै गएकाे छ । बराङ्जा गाउँभन्दा माथि झाँक्रीपानी पर्छ । झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरु पुग्न थालेका छन् ।

स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा परेको झाँक्रीपानी बराङ्जामा विभिन्न कार्यक्रम लिएर जानेहरु समेत पुग्ने गरेको स्थानीय बताउँछन् । झाँक्रीपानी पुगेपछि म्याग्दीका ग्रामीण वस्तीको सौन्दर्य, मनोरम हिमश्रृङ्खलाहरुको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र भेषभूषाको अध्ययन गर्न पाइन्छ ।

परापूर्वकालमा झाँक्रीले त्यस स्थानमा पानी निकालेको भएर झाँक्रीपानी नाम रहन गएको किम्बदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले बताउनुभयो । झाँक्रीपानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरु हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको छ । झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरिसहित अन्नपूर्ण, नीलगिरी, मानापाथी, सिस्ने, माछापुच्छ्रे, गूर्जालगायत दर्जनौं हिमश्रृङ्खलाहरुको अवलोकन गर्न सकिन्छ ।

झाँक्रीपानीमा स्वदेशी र विदेशी पर्यटकहरुको आगमन बढ्दै गएपछि वडा कार्यालय,  मंगला गाउँपालिका र सङ्घीय सरकारको २० लाख रुपैयाँको लागतबाट पर्यटकलक्षित भ्यू–टावर निर्माण गरिएको छ । झाँक्रीपानीमा भ्यू–टावर बनाएपछि अहिले हिमालसहितको दृश्य हेर्ने पर्यटकको आगमनमा वृद्धि भएको स्थानीय युवा रोकाले जानकारी दिनुभयो । समुन्द्री सतहदेखि झण्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्रीपानी अवस्थित छ ।इलामबाट कार्यक्रमको सिलसिलामा म्याग्दी आउनुभएकी टीका उप्रेतीले बराङ्जाको झाँक्रीपानी क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव सुनाउँदै झाँक्रीपानी पर्यटन प्रवर्द्धनका लागि उपयुक्त स्थल रहेको बताउनुभयो । उहाँ गाउँमा पर्यटन प्रवर्द्धन गर्नसके स्थानीयको जीविकोपार्जनमा समेत सुधार आउने सुझाव दिनुहुन्छ ।

झाँक्रीपानी गाउँनजिकै ऐतिहासिक चिनाकोट दरबार पनि रहेको छ । मंगला गाउँपालिकामा बराङ्जाको झाँक्रीपानी, चिनाकोट, कुहुँको टोड्के, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीय स्थलहरु छन् । स्थानीयस्तरमा पर्यटन पवर्द्धन गर्न झाँक्रीपानी र पूर्णगाउँमा होमस्टे कार्यक्रम लागू भएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply