–चन्द्रप्रकाश बानिया

पञ्चायती शासनकालको मध्यान्तरतिरको कुरा हो, राष्ट्रिय पञ्चायतको अधिवेशन समाप्तिपछि सधैं झैं त्यस पटक पनि सांसदहरुको सम्मानमा तत्कालीन प्रधानमन्त्रीद्वारा सिंहदरवार परिसरमा एउटा भव्य रात्रीभोजको आयोजना गरिएछ । विदेशी रक्सीको रमरममा सबै पाहुनाहरु डुबिसकेपछि भोजको रौनक नै फेरिएछ ।  भद्रजनहरुको उपस्थितिको वातावरण नै अर्को भएछ । सांसद, मन्त्री र विशिष्ट पाहुनाहरु सबै गाउन नाच्न थालेछन् । तर माननीय रुपचन्द्र बिष्ट भने कुनाको एउटा टेबुलमा नितान्त एक्लै बसेर पेग माथि पेग थपिरहेका रहेछन् । कुनै एकजना महिला सांसदले रुपचन्द्रलाई नाच्न उठ्ने आग्रह गरिछन् ।

रुपचन्द्रको ‘थाहा’ आन्दोलनको उत्कर्षको बेला थियो त्यो । एउटा भावुक, गम्भीर र सम्वेदनशील व्यक्तित्वको रुपमा त्यतिबेलासम्म बिष्ट स्थापित भैसकेका थिए । स्वभावतः आफ्नो स्थापित छविअनुरुप सभ्य, शिष्ट र शालीनतापूर्वक महिला सांसदको आग्रहलाई ईन्कार गर्र्दै माननीय बिष्टले भनेछन्– ‘माननीय ज्यू ! रक्सीको सुरमा यो देशका मन्त्री र सांसदहरु नाच्न थाले भन्दैमा रुपचन्द्र बिष्ट नाच्न सक्तैन । रुपचन्द्रले त्यतिबेला मात्रै गाउन र नाच्न थाल्नेछ, जब यो सिंगो मुलुक नाच्ने दिन आउने छ ।

अर्थात यो मुलुकले जुन बेला गास, बास, कपास, शिक्षा र स्वास्थ्य जस्तो मानवजीवनका आधारभूत समस्याहरुबाट पूर्ण मूक्ति पाउने छ, त्यो बेला मात्रै तमाम् नेपालीहरुसँग यो रुपचन्द्रले पनि खुसी मनाउने छ । सामाजिक उत्तरदायित्वका हिसाबले म मुलुकको वर्तमान परिस्थितिमा आनन्द र खुसी मनाउन सक्ने स्थितिमा छैन । त्यसैले माफ गर्नुस माननीयजी ! यी मुठ्ठीभर शोषक सामन्तहरुको खुसियालीमा रुपचन्द्रले खुसी भएको अभिनय गर्न सक्तैन ।’

रुपचन्द्रले यो धर्ती छोडेको पनि आधा दशक बितिसकेछ । उनले कल्पना गरे जस्तो नेपालको निर्माण हुन त अझै शताब्दियौं कुर्नु पर्छ होला । रुपचन्द्रले मात्रै होईन, त्यस्तै दिन पर्खने हो भने, रुपचन्द्रका नातीले पनि नाच्ने दिनको साईत जुर्ने छैन । तर मलाई यतिखेर लागेको एउटा कुरा के हो भने रुपचन्द्र आजसम्म ज्युँदा भै दिएकाभए र यो बर्षको बेनीबजारमा सम्पन्न माघे संक्रान्ति मेलामा सहभागी हुन पाएका भए उनी पनि अवश्य नाच्दा हुन् ! बेनीको रमाईलो वातावरणले उनलाई पनि अवश्य नचाउँदो हो ।

किनकि त्यो मेलामा नाच्ने गाउनेहरु समाजका शोषक सामन्तहरु मात्रै थिएनन् । बरु त्यो मेलामा पुगेर पनि ननाच्ने मान्छे त भेट्टाउनै मुश्किल पथ्र्यो । मेलाको वातावरण नै त्यस्तो थियो कि जस्लाई पनि नाचुँ नाचुँ बनाईहाल्थ्यो, गाउँ गाउँ लाग्थ्यो । त्यो मेलामा रम्न रमाउनका लागि मान्छेले आफ्नो आमद हैसियत हेर्दैनथ्यो ।

माघे संक्रान्तिको पावन अवसरमा बेनीबजारमा हाट मेला लाग्ने पुरानो परम्परा हो । सोह्रौं शताब्दिको उत्तरार्धमा समाल वंशका छैंटौं राजा राजवम मल्लको पालादेखि वेनीबजारमा हिउँदका चार महिना ‘हाटमण्डी’ लाग्ने परम्परा बसेको थियो।

अस्थायी मण्डीले स्थायी बजारको रुप लिएपछि पनि मेला प्रारम्भको प्रथम दिन माघे संक्रान्तिमेलाको भव्यआयोजना गर्नेे परम्परा लामो समयसम्म कायम रह्यो । विगत दुई, तीन दशक यता बर्सेनी यो मेलाको भव्यता र महत्व जनसहभागिताका दृष्टिले झन झन घट्दैै गैरहेको छ । अर्थात अव त ‘मकर संक्रान्तिमा वेनीमा मेला लाग्थ्यो रे !’ भन्दा अन्यथा नहुने स्थिति सृजना भैसकेको छ । समयचक्र विचित्रको हुन्छ ।

यसले पुराना स्थापित परम्पराहरुलाई बिर्साई दिन्छ र नयाँ परम्परा र रीतिरिवाजको सूत्रपात गरिदिन्छ । बेनीबजारको माघे संक्रान्ति मेला पनि पूर्णतः लोपोन्मुख परम्पराको गन्तिमा परिसकेको छ । हुन पनि यो मेलाको महत्व स्थापित गर्ने मूख्य दुईवटा आधारहरु भत्किईसकेका छन् । जग भत्किएको भवन टेको पुँडोले कति दिन टिक्छ र ?!

मकर संक्रान्ति मेलाको पहिलो आधारस्तम्भ धार्मिक परम्पराप्रतिको आस्था र विश्वास हो । सूर्यदेवको उत्तरायण यात्रा सुरु हुने दिन मकर संक्रान्ति हिन्दू धर्मका दृष्टिले पवित्र दिन मानिन्छ । यो शुभ मुहुर्तमा गङ्गास्नान गर्नाले पुण्य मिल्छ र पापमोचन हुन्छ भन्ने धार्मिक विश्वास सायद अब हाम्रो समाजमा खण्डित भैसकेको छ । न त सूर्यनारायणको उत्तरायण यात्राको पवित्रतामा विश्वास छ, न त गङ्गास्नानबाट पुण्य प्राप्त हुने कुराप्रतिको आस्था बाँकी छ ।

अथवा लोकमा पापाचार (सामाजिक अपराध) को मात्रा यति धैरै वृद्धि भैसकेको छ कि शरीरका बहिरङ्गहरु पनि राम्रोसँग सफा गर्न सक्ने हैसियत गुमाएको फोहोर गङ्गाजलले मनभित्र कटकटिएर खाँदिएको पाप (अपराधकर्म) पखाल्छ भन्नु पाखण्डपन मात्रै हो भन्ने बुझाई बहुसंख्यक मानिसहरुमा विकास भैसकेको छ । त्यसैले मान्छेहरुमा गङ्गास्नानको लालसा समाप्त भैसकेको छ, आकांक्षा मरिसकेको छ । आस्था र श्रद्धामा ठूलो ह्रास आईसकेको छ ।

मेलाको दोश्रो आधार पुरानो ‘हाटमेला’ को परम्परा पनि अब समय सापेक्ष रहेन । यातायात र सञ्चारको विकासले बजार व्यवस्थालाई सुगम बनाई दियो । अब बजार सधैंका लागि र सबैका लागि हरदम उपलब्ध हुने बस्तु (सुविधा) मा रुपान्तरित भैसक्यो । किनमेल र बेचविखनका लागि अब कुनै हाटमेलाको तिथि कुर्नु पर्दैन । त्यसैले मेला पर्वहरुको महत्व विशुद्ध मनोरञ्जनले मात्रै थामिरहने प्रश्नै उठ्दैन ।

समय प्रवाहको प्रतिकूलताले विशाल र बलशाली डाईनासोरलाई पनि आफ्नो अस्तित्व जोगाउन नसक्ेन अवस्थामा पु¥याइदियो भने यातायात, संचार र बजारको बिस्तारका अगाडि परम्परागत हाटमेलाहरुको औचित्य कतिदिन टिक्न सकोस् त ? त्यसैल अब त्यस्ता मेला पर्वहरुप्रतिको आकर्षण र औचित्य पुरै समाप्त भैसकेको छ भन्दा फरक पर्छजस्तो लाग्दैन ।

वि.संं. २०५९ सालको माघे संक्रान्तिमा म्याग्दी उद्योग वाणिज्य संघले विस्मृतिको गर्भमा विलुप्त हुँदै जान थालेको बेनीबजारमा लाग्ने परम्परागत संक्रान्ति मेलालाई पुनर्जीवन दिने प्रयत्न गरेछ र मेलाको तिथि वरपर मृत सञ्जिीवनी बुटीस्वरुप विविध साँस्कृतिक, व्यावसायिक र औद्योगिक हाटमेला प्रदर्शनीको तर्जुमा मिलाएछ । ती सबै कार्यक्रमहरुमध्ये ‘दोहोरी गीत प्रतियोगिता’ उल्लेखनीय रुपमा सफल रहेको मूल्याङ्कन आयोजक र सहभागी दुवैथरको रह्यो ।

लगातार चार दिनसम्म चलेको दोहोरी गायन प्रतियोगिताबाट आयोजकहरुको मनोकांक्षा त कति पूरा भयो कुन्नी ? तर उक्त कार्यक्रम भीड जुटाउन भने सफल रह्यो । सांस्कृतिक परम्पराको जगेर्ना गर्न त कति सफल रह्यो कन्ुनी, मान्छेहरुलाई पर्याप्त मनोरञ्जन भने निश्चय नै उपलब्ध गरायो ।

मेलामा सबै सहभागीहरु गाईरह्ेकै देखिन्थे । नाचिरहेकै देखिन्थे । ‘लाली गुँरास क्लब’ पर्वतको पुरुष समूह र ‘कर्मचारी मिलन केन्द्र’ बाग्लुङ्गको महिला समूहबीचको दोहोरी प्रतियोगिता साँच्चीकै मर्यादित र उत्कृष्ट थियो । त्यो स्तरको दोहोरी गीतको कार्यक्रम एन.टी.भी. लगायतका सबै नेपाली टिभी च्यानलहरुले आजसम्म प्रशारण गर्न (दिन) सकेका छैनन् भन्दा फरक पर्दैन । प्रतियोगिता सञ्चालित भएका ती चारदिनहरु साँच्चिकै नृत्यमय  भएर बिते ।

उक्त मेलामा उपस्थित भएर पनि ननाच्ने मान्छे त विरलै रह्यो होला । अघिल्लो दिन कुनै भद्रजन झाम्रेको तालमा उन्मत्त नाचेको कुरालाई आलोचनाको विषय बनाउने मान्छेहरु भोलिपल्ट त आफै नाच्न तम्सेको देखियो । बालदेखि बृद्धसम्म, गरीब देखि धनी सम्म र पियन देखि हाकिमसम्म सबै दिल खोलेर नाचे । सबैले धक फुकाएर गाए ।

शालीनता र भद्रतापूर्वक सुरु हुने हरेक दिनका कार्यक्रमहरुले साँझतिर मर्यादाको लक्ष्मण रेखा अतिक्रमण गर्न आँटे जस्तो लाग्थ्यो । अर्थात हरेक दिन छिप्पिदो साँमm देखि भोलिपल्ट मिर्मिरेसम्म बन्द कोठा भित्र नजरबन्द हुनु पर्ने बाध्यता नभै दिएकाभए मेलाका हरेक रातहरु अमर्यादित हुने पक्कै थियो भनेर सहज कल्पना गर्न सकिन्थ्यो । संकटकालले मेलालाई अमर्यादिन हुनबाट राम्रैसँग जोगायो  भन्नुपर्छ । सिउँडीको दूध पनि औषधिको रुपमा प्रयोग हुनसक्छ भनेको साँच्चै हो रहेछ ।

जति जति घाम ओरालो लाग्दै जान्थे, दिन ढल्कँदै जान्थ्यो त्यति त्यति मान्छेहरु रौंसिदै र हौसिँदै गएको देखिन्थ्यो । अर्थात ‘मेलाको भरपुर मनोरञ्जन आजै लिईहाल्नु पर्छ, भोलि त के हो कसो हो’ भन्ने मनोविज्ञानले काम गरेजस्तो लाग्थ्यो । पहिलो दिन मादलको तालमा थपडी बजाएर नाच्ने बडे बडे हाकिमहरुको आलोचना गर्नेहरु पनि भोलि पर्सिपल्ट सम्म त बानी परिसकेका थिए ।

आज ‘फलानो हाकिम देखिएन, ढिस्कानो आज कता हराएछ’, भनेर नाच्ने गाउनेहरुको खोजी गरेको देखिन्थ्यो बरु । कहिले कहीँ स्वयं आयोजकहरु मञ्चमा नाच्न थाल्दा मर्यादा मिचिएको अनुभव गर्नेहरुले पनि दिनहरु बित्दै जाँदा त्यसलाई विशुद्ध वातावरणीय प्रभाव मानेर स्वाभाविक र सहज व्यवहारको रुपमा पचाउँदै गएको देखिन्थ्यो ।

नेपालीहरुलाई नाच्न गाउनका निमित्त रुपचन्द्र विष्टले कल्पना गरेजस्तो अवस्था चाहिने रहेन्छ भन्ने कुरा माघे संक्रान्ति मेलाको त्यो उल्लासमय वातावरणले प्रमाणित गरिदिन्थ्यो । नाच्ने गाउँने अवसर पाउँदा मान्छेहरुले सबै दुःखकष्ट, अत्तोगाह्रो अप्ठरो र आमद हैसियत सबै बिर्सिएर रमाइलो वातावरणमा आफूलाई सामेल र सहभागी बनाउँदो रहेछ । आज वास्तवमा देशको सामाजिक परिस्थिति रुपचन्द्रको बेलाको भन्दा सयौं गुना गएबितेको स्थितिमा छ । तैपनि मान्छेहरुले निर्धक्कसँग गाए, मजाले नाचे । हाँसे, खेले, रमाईलो गरे ।

मनोरञ्जन लिए । सायद, रुपचन्द्र सशरीर बेनीको मेलामा उपस्थित हुँदा हुन ता अवश्य उनी पनि नाच्दा हुन । दोहोरी गाउन अघि सर्दा हुन  ! सिंहदरवारको रात्री भोजमा मोटाघाटा, पेट भरिएका र शोषक सामन्तहरु विदेशी रक्सीले मातेर नाचे होलान् तर बेनीको खुला मञ्चमा त दुब्ला पातला, भोका नाङ्गा र एक बोतल ‘लोकलठर्रा’ सेवन गर्ने हैसियत नराख्नेहरु पनि उत्तिकै रमाएर नाचेको देखिन्थ्यो । यसरी सिंगो समुदाय नाच्दा रुपचन्द्र कसो ननाची बस्न सक्दा हुन र ?!-जनधारणा साप्ताहिकबाट