पर्वतको जलजला गाउँपालिकामा रहेको एम्बुलेन्सले कोरोना सङ्क्रमित बिरामीको उपचारमा सम्भव नभएपछि गाउँपालिका अध्यक्ष र उपाध्यक्षले प्रयोग गर्दै आएको सवारी साधनलाई एम्बुलेन्सका रूपमा सञ्चालन गरिएको छ ।

दैनिकजसो कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि एम्बुलेन्स बाहेक अतिरिक्त सवारीसाधनको ब्यवस्थापन गर्ने गरी गाउँपालिका अध्यक्ष यामबहादुर मल्लले (रामकृष्ण) र उपाध्यक्ष सिमा गर्बुजाले संक्रमतिको उपचारमा प्रयोग गर्ने गरी उपलब्ध गराएका छन् ।

अध्यक्ष मल्लले प्रयोग गर्ने बा २ झ ४२२२ को स्कार्पियो र उपाध्यक्ष सीमा गर्बुजा पुनले प्रयोग गर्ने ग १ झ ४२२ नम्बरको बोलेरो गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको अध्यक्ष मल्लले बताए ।

‘कोरोना बाहेक अन्य रोगबाट समेत ग्रसित भएकालाई समेत उपचारमा कुनै कमी हुनेछैन्,‘आर्थिक अवस्था कमजोर भएकालाई वडामार्फत समन्वय गर्न अपिल गर्छु’ अध्यक्ष मल्लले भने ।

जलजला गाउँपालिका भित्र कोरोना सङ्क्रमणबाट अहिलेसम्म ३ जनाको ज्यान गइसकेको छ भने केहीको अवस्था चाहिँ गम्भीर रहेको छ । पालिकामा ४५ जनामा कोरोना सङ्क्रमण देखिएकोमा सक्रिय ३५ जना रहेको बताइएको छ। जलजलाबाट स्बाब दिन बेनी अस्पतालमा आएकामा दैनिकजसो कोरोना संक्रमण पुष्टी हुने गरेको छ ।

संक्रमति मध्ये अधिकांस होम आइसोलेसनमा रहेका छन् भने बेनी, बागलुङ र पर्वत अस्पतालमा समेत उपचारर्थ रहेको गाउँपालिकाले जनाएको छ ।

यसैबीच गाउँपालिकाले जलजला–८ फर्सेमा अस्पताल २० शैयाको कोरोना अस्पताल सञ्चालनमा आएको छ ।मध्यपहाडी लोकमार्गलाई जोड्ने बेनी–मालढुङ्गा सडकको नजिकै अस्पताल सञ्चालनमा ल्याइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए । अस्पतालको ६ वटा बेडमा अक्सिजन समेत जडान गरिएको छ भने बाँकीमा समेत तयारी भइरहेको जनाइएको छ ।

Leave a Reply