श्वासप्रश्वासको समस्या भएपछि समयमै बेनी अस्पतालमा उपचारका लागि गएका ५ बिरामी बुधबार डिस्चार्ज भएका छन् ।

कोरोनाको दोस्रो लहरसँगै श्वासप्रश्वासको समस्या देखिएपनि होम आइसोलेसनमै बस्ने र सास फेर्न एक्कासी कठिन भएपछि मात्र स्वास्थ्य संस्थामा आउने गरेको बिरामीको ज्यान जोगाउनै मुस्किल भइरहेको अवस्थामा शरीरमा अक्सिजनको मात्रा कम भएपछि तत्कालै अस्पतालमा आएका मध्ये ५ जना बिरामी उपचारपछि घर फर्किएको बेनी अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए ।

‘आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा धेरै बिरामीले चासो दिएको देखिदैन्,‘अक्सिजनको कमी भएर समयमै अस्पतालमा पुगेका बिरामीले उपचारपछि सकुशल घर फर्किएका छन्’ डा. कँडेलले भने ।

कोरोना संक्रमणको लक्षणसँग मिल्ने भएकाले उपचार नगरी घरमै बस्ने र अन्तिम समयमा अस्पतालमा आउने बिरामीको उपचारमा समस्या भइरहेको डा. कँडेलको भनाई छ । ‘कोरोना संक्रमति नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुपर्छ,‘घरमै आफ्नो अक्सिजनको अवस्था नाप्न पनि सकिन्छ’ डा. कँडेलले भने ।

शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने भएपनि केही बिरामी ३० देखि ५० प्रतिशतको हारहारीमा अस्पतालमा आउने गरेको बताए । कोरोनाबाहेक अरु रोग लाग्दा अक्सिजनको मात्रा कम भयो भने सास फेर्न कठिन हुन्छ।

कोरोना संक्रमित हुँदा अक्सिजनको स्तर ५० प्रतिशतमा झरे पनि कुनै लक्षण नदेखिने तर, भित्रभित्रै फोक्सोमा खराबी हुने हुन्छ। यस्तो वेला संक्रमित ढिला गरी अस्पतालमा पुगेमा उपचार गर्न कठिन हुने र ज्यान जाने जोखिम हुने भएकाले संक्रमतिलाई विषेश ध्यान दिन समेत चिकित्सकले अनुरोध गरेका छन् ।

ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको ‘पल्स अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच गर्न अनुरोध गरेका छन् ।

बुधबार शरीरमा अक्सिजनको मात्रा ६० प्रतिशत भएको अवस्थामा भर्ना भएका गंगे खत्री सहित ५ जनालाई उपचारपछि घर पठाइएपनि हाल हाई प्रेसरमा ४ जना र नर्मलमा ९ जना बिरामी उपचारर्थ रहेका बेनी अस्पतालले जनाएको छ ।

Leave a Reply