बेनी नगरपालिकाका एक कोरोना संक्रमति पुरुषलाई एक्कासी सास फेर्न गाह्रो भयो। घरमै सिकिस्त भएपछि बेनी अस्पतालमा उपचारका लागि आएका पुरुषको बुधबार मृत्यु भयो ।

श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित बेनपा–८ का एक निर्माण ब्यवसायीको पनि अस्पतालमै ज्यान गयो । दुवैको अक्सिजनको स्तर ४० देखि ५० प्रतिशतभन्दा तल झरेको थियो।

पछिल्लो एकसाता यता म्याग्दीका कोरोनाको लक्षण देखिएर ज्यान गुमाएकामध्ये धेरैमा श्वासप्रश्वासको समस्या देखिएको छ। कोरोनाको जोखिमसँगै आवश्यक जानकारीको अभावमा समयमै स्वास्थ्य संस्थामा नपुग्दा उपचार सम्भव भएका बिरामीले समेत ज्यान गुमाउनु परेको छ ।

कोरानोको दोस्रो लहरसँगै बेनी अस्पतालमा पुगेका कोरोना संक्रमति र दिर्घरोगीमा श्वासप्रश्वासको समस्या भएकामध्ये अधिकांंस चिन्ताजनक अवस्थामा भर्ना हुन आएको अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले बताए ।

‘सास फेर्न कठिन भएपछि अन्तिममा बिरामी अस्पतालमा आउनुहुन्छ, आफ्नो शरीरको अक्सिजनको अवस्थाका बारेमा घरमै चेकजाँच गर्न सकिने भएपनि धेरैलाई जानकारी छैन’ प्रमुख डा. कँडेलले भने ।

अस्पतालमा समयमै उपचारका लागि आउने बिरामीलाई कुनै समस्या नभएको बताउँदै अक्सिजनको मात्रा ६५ प्रतिशतसम्म भएका बिरामीलाई समेत उपचारपछि बुधबार डिस्र्चाज गरिएबो डा. कँडेलको भनाई छ । शरीरमा अक्सिजनको मात्रा ९० देखि १०० प्रतिशतसम्म राम्रो मानिने डा. कँडेलको भनाई छ ।

कोरानौक कारण बेनी अस्पताल र यहाँबाट रिफर गरी पोखरा पठाइएका बिरामीहरुमा अक्सिजनको स्तर ३० देखि ५० प्रतिशतमा झरेका रहेको अवस्थाका बिरामी भएकाले यो समयमा घरमै अक्सिमिटर’ उपकरणमार्फत नियमित अक्सिजन स्तर जाँच्नुपर्ने डा. कँडेलको भनाई छ ।

होम आइसोलेसनमा बसिरहेका बिरामीहरुको नियमित अक्सिमिटर’ ले चेकजाँच गर्नुपर्ने डा. कँडेलको सुझाव छ । घाँटी चिलाउने, खस्खसाउने, खोकी लाग्ने, एक्कासी श्वासप्रश्वासको समस्या देखिएपछि तत्कालै स्वास्थ्यकर्मीको सम्पर्कमा आउनुपर्छ ।

लगातार खोकी लाग्ने, चाँडो–चाँडो श्वास फेर्ने,श्वास फेर्दा छाती र करङको भाग धस्सिने, श्वास फेर्न गाह्रो हुने समस्या समाधान नभएपछि मात्रै अस्पतालमा जाने बिरामीकै कारण समस्या हुने गरेको चिकित्सकको भनाई छ।

बेनी अस्पतालका क्लिनिक कोअर्डिनेटर डा.नवराज बस्ताकोटीका अनुसार कोरोना संक्रमतिले अन्य समस्यासँगै अक्सिजनको मात्रालाई धेरै ख्याल गर्नुपर्ने बताए । उनले शरीरमा अक्सिजनको मात्रा कम हुन नदिन समय–समयमा अक्सिजनको स्तर जाँच गर्न आवश्यक रहेको बताए ।

‘जटिल अवस्थामा आएका बिरामीलाई आँखै अगाडी गुमाउनुपरेको छ’ डा.बस्ताकोटीले भने। म्याग्दीमा कोरोनाको दोस्रो लहरपछि बेनी अस्पताल र पोखरामा ज्यान गुमाएका संक्रमतिमा अधिकांर शरीरमा अक्सिजनको अभाव भएकै कारण भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

Leave a Reply