म्याग्दीमा निर्माण सम्पन्न ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत आयोजना बाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । माउन्टेन इनर्जी नेपाल कम्पनीले निर्माण गरेको आयोजना प्रणालीमा जोडिन लागेको हो ।

परीक्षण उत्पादन सुरु गरेर प्रणालीमा जोड्ने तयारी पूरा भएको आयोजना प्रमुख दीपककुमार शाहले बताए । ‘हाम्रो तर्फबाट परीक्षण उत्पादन सुरु गर्न सबै तयारी पूरा भइसकेको छ,’ उनले सँग भने, ‘नेपाल विद्युत प्राधिकरणकाे प्राविधिक टाेलीले भरे ३ बजेभित्र आयोजनाको ४२ मेगावाट विद्युत दाना सबस्टेसनमा जाेड्छ।’

उनले परीक्षण उत्पादन सुरु गर्न प्राधिकरण पोखरा ग्रिड शाखाको प्राविधिक टोली आयोजनास्थलमा आइपुगेको जानकारी दिए । प्राधिकरणको प्राविधिक टोली कोरोना (कोभिड–१९) परीक्षण गरेर मिस्ट्री खोला पुगेको छ ।

परीक्षण उत्पादनको चरण २ साताको हुनेछ । १५ दिनसम्म प्राधिकरणलाई निशुल्क विद्युत दिएपछि आयोजनाबाट व्यापारिक उत्पादन सुरु गरिने पनि शाहले बताए । प्रवर्द्धक कम्पनीले निर्माण गरेको विद्युत दाना सबस्टेसनसम्म पुर्याउन १३२ केभी प्रसारण लाइन ३ दिनअघि चार्ज गरिएको थियो ।
यसअघि चैत १५ सम्ममा विद्युत उत्पादन सुरु गर्ने तालिका भए पनि आयोजनास्थलमा कार्यरत कर्मचारी तथा कामदार कोरोना संक्रमित भएपछि धकेलिन पुगेको थियो ।

माउन्टेन इनर्जीले प्रतिमेगावाट १३ करोड ४३ लाख रुपैयाँ लागतमा यो आयोजना सम्पन्न गरेको छ । यो नै स्वदेशी लगानीमा निजी क्षेत्रले सम्पन्न गरेको अहिलेसम्मको ठूलो जलविद्युत आयोजना पनि हो । आयोजनामा नबिल बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल, लक्ष्मी, सिद्धार्थ र एस डेभलपमेन्ट बैंकले ऋण लगानी गरेका छन् ।

आयोजनामा भाटभटेनी समूह, आइएमई समूह, किया मोटर्स, सिटी मनी एक्सप्रेसलगायत व्यापारिक घरानाले स्वपुँजी लगानी गरेका छन् । २०७३ जेठ ३१ गतेदेखि निर्माण सुरु भएको आयोजना यसअघि नै प्रणालीमा जोडिइसक्नु पर्ने भए पनि प्रसारण लाइन निर्माणमा भएको ढिलाई, प्राकृतिक प्रकोप, कोरोना महामारीलगायत कारणले प्रभावित हुन पुगेको थियो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गरेर बाँडफाँड गरि दोस्रो बजारमा कारोबार सुरु गरिसकेको छ । मिस्ट्री खोला लागतका हिसाबले आकर्षक आयोजना भएकाले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण देखिएको छ ।

कम्पनीले यसअघि नुवाकोटमा ५ मेगावाटको तादी खोलाको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइसकेको छ । मिस्ट्री खोलाबाट विद्युत उत्पादन भई निस्कने पानीको उपयोग हुने गरी मिस्ट्री खोला–२ क्यासकेड आयोजना पनि कम्पनीले निर्माण गर्दैछ ।

Leave a Reply