कोरोना भाइरस संक्रमणको दोस्रो लहरले म्याग्दीलाई गाँज्दै लगेपछि सबैजसो स्थानीय तहले निषेधाज्ञा जारी गरेका छन् । आइतबारसम्म जिल्लामा सक्रिय संक्रमतिको संख्या दुई सय नाघिसकेको छ भने यो हप्ताा दुई सयभन्दा बढी संक्रमति भेटिने निश्चित छ ।

हालसम्म बेनी अस्पतालमा ३ जना र थप उपचारका लागि जिल्ला बाहिर पठाइएका ९ जनाको कोरोनाकै कारण ज्यान गएको छ । कोरोनाको लक्षण देखिएका र स्वासप्रवासका कारण ज्यान गुमाउनेको संख्यालाई स्वास्थ्य कार्यालयले समेत कोरोनाकै कारण मृत्यु भएका संकास्पद विरामीको सू्चीमा राख्ने गरेको छ ।

कोभिड–१९ को सङ्क्रमण भयावह हुने जनस्वास्थ्यका जानकारहरूको चेतावनीलाई सरकारी निकायको बेवास्ता र नागरिकको हेल्चेक्राईका कारण समेत जिल्लाका अति विकट बस्तीसम्म कोरोनाको आगो सल्किसकेको छ ।

अन्य जिल्लाबाट कमै घुलमिल हुने, नयाँ मान्छेको जमघटन हुने बस्तीहरूमा गरिएको परीक्षणले समेत जिल्लामा कोरोना संक्रमतिको संख्या सोजेभन्दा धेरै र नियन्त्रणमा समेत हम्मेहम्मे हुने अवस्थाको आँकलन गर्न सकिन्छ ।

वडास्तरमै गरिएको एन्टीजेन परीक्षणमा ६० प्रतिशतभन्दा बढीमा कोरोनाको लक्षण देखिएकाले पनि अवस्था नियन्त्रणमा ल्याउन निकै चुनौतीपूर्ण छ । कोरोनबाट जोगिन अपनाउनुपर्ने जनस्वास्थ्यको मापदण्डका बारेमा समेत ग्रामिण क्षेत्रमा सर्वसाधारणलाई प्रयाप्त जानकारी पुग्न सकेको छैन् ।

कोरोना संक्रमितलाई संस्थागतभन्दा होम आइसोलेसनमा बसेको अवस्थाले पनि घरपरिवार र छिमेकीलाई समेत संक्रमण फैलिने अवस्था रहेपनि गतबर्षको तुलनामा कोरोना संक्रमतिले आवश्यक सर्तकता भने अपनाइरहेको देखिन्छ । यसपटक कोरोनाको लक्षण विषाणु बढी आक्रामक र खतरनाक देखिएको छ ।

दोस्रो लहरबाट म्याग्दीमा पनि सङ्क्रमण फैलिँदै जादाँ समेत बेनीबजारमा बैंक तथा वित्तिय संस्थालाई निषेधज्ञाले छोएको छैन् । सहकारी सहित अन्य वित्तिय कारोबार गर्ने संस्थालाई बन्द गरी प्रशासनले बैंकलाई भने खोल्न दिएको अनुमतिले समेत पूर्वतयारी, निर्णय कार्यान्वयन, फितलो समन्वय र कमजोर व्यवस्थापको उदाहरण प्रष्टै झल्किएको छ ।

गतबर्ष कोरोना नियन्त्रणका लागि बन्दाबन्दीमा लागू गरिएको समयमा राम्रा अभ्यास र कमजोर पक्षको समीक्षा नै गरिएन । यसैले एकातिर जनसाधारणलाई असुविधा हुने र अर्कातिर सङ्क्रमणको जोखिम बढ्ने प्रकारका संस्थाहरूलाई सञ्चालन गर्न दिने नियम समेत लागू गरिएको छ । उदाहरणका लागि अत्यावश्यक सामग्रीका पसलहरू बिहान दुई घन्टामात्र खोल्न दिने नियमले असुविधा र सङ्क्रमणको जोखिम झन् बढाएको छ ।

त्यसलाई जोखिममुक्त बनाउन भने ध्यान दिएको देखिएन । दैनिक आवश्यकताका वस्तुको अभाव नहोस् भनेर अत्यावश्यक सामानका पसल खोल्न दिइएको हुनुपर्छ तर बैंकहरू सञ्चालन गर्न दिएर सर्वसाधारणलाई बैंकसम्म जाने बाहना बन्दैछ । सर्वसाधारणको असुविधाका साथै सङक्रमणको जोखिम पनि बढाएको छ ।

निषेधाज्ञालाई अझै कसिलो बनाउन अहिलेसम्म भएका कमजोरीलाई सच्चाउँदै थप योजना बनाउनुपर्छ । निषेधाज्ञामा लागू गरिएका बन्देजबाट परेको असरको समीक्षा गरेर त्यसमा जनताको सुविधा र सुरक्षा बढ्ने गरी सुधार गरियोस् । कोरोना नियन्त्रणका लागि गरिएका निर्णय बलियो भएपनि सम्बद्ध पक्षको बेवास्ताले कागजमै सीमित बन्ने अवस्थाको अन्त्य होस् ।

हाम्रो जीवनको मूल्यभन्दा ठूलो अरू होइन भन्ने हामीले हेक्का राख्नैपर्नेछ । विगतमा कोरोना गयो भनेर हतारमा लापरबाही देखाएका कारण आज यो अवस्था आएको पाठ हामीले सिक्नैपर्छ । कोरोनालाई सरकारी निकाय र सर्वसाधारणले खेलाँची नठानौं । संकट टरिसकेको छैन त्यसैले सक्दो सुरक्षाका विकल्प अपनाऊँ र स्वस्थ रहौँ । बेनी समाचार साप्ताहिकबाट साभार

 

Leave a Reply