म्याग्दीमा आगामी जेठ १० गतेसम्म लागू हुने गरी निषेधाज्ञा थप गरिएको छ । जिल्लाका सबै स्थानीय तहमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि १० दिन थपिएको हो ।

आज बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्दको बैठकले तत्काल खुकुलो बनाउने अवस्था नरहेको भन्दै थप कडाईका साथ निषेधाज्ञा गर्ने निर्णय भएको (डिसिसिएमसीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको बैठकले यसअगाडी बेनी नगरपालिकामा जारी रहेको निषेधाज्ञाको समयअवधि सकिएको अवस्थामा सबै स्थानीय तहमा यस अगाडीदेखि लागु भएको निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द गरिएको छ ।अस्पताल, औषधालय, स्वास्थ्य सामग्रीका पसलहरु भने खुल्ला रहेका छन् ।निषेधाज्ञामा बैंकलाई खोल्न दिएपछि बेनीबजारमा चलहपहल नरोकिएको अवस्थामा यसपटक भने उक्त विषयले समेत प्रवेश पाएको थियो ।

बैंक र औषधी खरिद गर्न जाने बाहनामा बजारमा आवतजावत बढेको भन्दै थप कडाई गर्न सरोकारवाला निकायले माग गरेका थिए । निषेधाज्ञा बारे निर्णय गरिएको पूर्ण विवरण प्रशासनले सार्वजनिक गर्ने जनाइएको छ। म्याग्दीमा कोरोना संक्रमतिको संख्या २ सय नाघेको अवस्थामा जोखिम झनै बढेको छ ।

Leave a Reply