बेनी नगरपालिकामा मेयर प्रमुख हरिकुमार श्रेष्ठले कोरोना संक्रमितलाई अस्पताल पु¥याउने प्रयोजनका लागि आफ्नो दुई निजी गाडी उपलब्ध गराएका छन् । नगरपालिका भित्र कोरोना संक्रमतिको संख्या ह्वात्तै बढेपछि मेयर श्रेष्ठले आफ्नो निजी बोलेरो जिप एम्बुलेन्सका रूपमा प्रयोग गर्न नगरपालिकालाई निःशुल्क उपलब्ध गराएका हुन् ।

बिहिबार नगरपालिकामा मेयर श्रेष्ठले एक चालकको खर्च समेत आफ्नो ब्यक्तिगत गर्ने गरी प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीलाई गाडीको चाबी हस्तान्तरण गरेका हुन् ।  मेयर श्रेष्ठले उपलब्ध गराएको ग १ ज ७०६२ र ग १ ज६७६३ नम्बरको ९ सिटे जिपले संक्रमितलाई स्वास्थ्य संस्था र घरसम्म पु¥याउन प्रयोग गरिने नगरपालिकाले जनाएको छ ।

सवारीसाधनमा लाग्ने इन्धन नगरपालिका र एक सवारी चालकको खर्च भने नगरप्रमुख श्रेष्ठले व्यहोर्ने बताइएको छ ।  ‘कोरोनाको लक्षण देखिएका बिरामीको उपचारमा कुनैपनि कमी हुदैन्,‘२४ घण्टा सवारीसाधन तयारी अवस्थामा हुन्छ’ नगरप्रमुख श्रेष्ठले भने । उनले नगरवासीको सहजताका लागि उपलब्ध गराएको जानकारी दिदैं नगरपालिका भित्र कोरोना संक्रमण अन्त्य नहुँदासम्म सवारीसाधन नगरपालिकाले प्रयोग गर्ने बताए ।

उनले संक्रमितलाई प्रयोजनका लागि थप सवारीसाधन आवश्यकता परेमा पनि नगरपालिकाले समेत ब्यवस्थापन गर्ने बताए । दुवै सवारीमा बिरामीका लागि आवश्यक अक्सिजनको समेत व्यवस्था हुने प्रमुख प्रशासकीय अधिकृत सुबेदीले जानकारी दिए । उनले संक्रमतिसँगै सवार भएकालाई संक्रमण फैलिन नदिने गरी संरचना समेत थप गर्न सकिने बताए ।

नगरपालिकाले वडास्तरमै पुगेर स्बाब संकलन सहित सचेतनामुलक कार्यक्रम समेत गरिरहेको छ । हाल नगरपालिकामा रहेको सरकारी स्वामित्वका सवारीसाधन बाहेक एक भाडामा लिइएको छ भने थप दुई सवारीसाधन उपलब्ध भएपछि सहज नगर कार्यपालिका सदस्य एवम् सवारीसाधन ब्यवस्थापन उपसमितिका संयोजक कृष्णकुमार विश्वकर्माले बताए ।

सवारी साधन हस्तान्तरण कार्यक्रममा उपमेयर सञ्जु बरुवाल, वडा नं ७ का अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, स्वास्थ्य संयोजक लिला गौतम, शाखा अधिकृत यूवराज थापा लगायतको उपस्थिती रहेको थियो । जिल्लामा रहेका २ सय ८ जना कोरोना संक्रमतिमध्ये बेनी नगरभित्र करिब १ सय ३० जना रहेका छन् ।

Leave a Reply