मनोरम दृश्यावलोकन गर्न मिल्ने म्याग्दीको मंगला गाउँपालिका–३, बराङ्जाको झाँक्रीपानी पर्यटकीय गन्तव्यस्थल बन्दै जान थालेको छ । बराङ्जाको गाउँभन्दा माथि रहेको झाँक्रीपानी क्षेत्र पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइमा परेको हो ।झाँक्रीपानीमा पछिल्लोपटक खासगरी आन्तरिक पर्यटकहरू पुग्न थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण र रोजाइमा परेको झाँक्रीपानीमा बराङ्जामा विभिन्न कार्यक्रम लगेर जानेहरू पुग्ने गरेको स्थानीयवासीको भनाइ छ ।

झाँक्रीपानीबाट म्याग्दीको ग्रामीण सौन्दर्यको अवलोकन, मनोरम हिमश्रृङ्खलाहरूको दृश्यावलोकन तथा मगर समुदायको कला, संस्कृति र वेशभूषाको अध्ययन गर्न पाइन्छ ।परापूर्वकालमा झाँक्रीले त्यस स्थानमा पानी निकालेको भएर झाँक्रीपानी नाम रहन गएको किंवदन्ती पाइने स्थानीय युवा दर्पण रोकाले जानकारी दिनुभयो । उहाँले झाँक्रीपानीबाट प्राकृतिक सौन्दर्यको अवलोकनका साथै मनोरम दृश्यहरू हेर्न पाइने भएकाले पछिल्लो समय पर्यटकको चहलपहल बढेको बताउनुभयो ।स्थानीय युवा रोकाले दिएको जानकारीअनुसार झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि हिमालसहित अन्नपूर्ण, निलगिरि, मानापाथी, माछापुच्छ«े, गुर्जालगायत दर्जनौं हिमालहरूको अवलोकन गर्न सकिन्छ ।

समुन्द्री सतहदेखि झण्डै २ हजार ३ सय मिटरको उचाइमा झाँक्रीपानी रहेको छ । इलामबाट म्याग्दीको भ्रमण गर्न आउनुभएकी आन्तरिक पर्यटक टिका उप्रेतीले बराङ्जाको झाँक्रीपानी क्षेत्रको भ्रमण गर्दा आनन्दको अनुभूति मिलेको अनुभव सुनाउँदै झाँक्रीपानी पर्यटन प्रवद्र्धनका लागि उपयुक्तस्थल रहेको प्रतिक्रिया दिनुभयो ।उहाँले झाँक्रीपानीको आवश्यक प्रचारप्रसारका साथै गाउँमा पर्यटन प्रवद्र्धन गर्न सकेमा स्थानीयको जीविकोपार्जनमा समेत सुधार आउने बताउनुभयो ।झाँक्रीपानीमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन बढ्दै जान थालेपछि वडा कार्यालय र मंगला गाउँपालिकाले पर्यटकलाई लक्षित गरेर भ्यु–टावर निर्माण गरिदिएका छन् । आर्थिक वर्ष २०७५/७६ मा सङ्घीय सरकारबाट १० लाख, गाउँपालिकाको ५ लाख ५० हजार, वडा कार्यालयको एक लाख ५० हजार तथा स्थानीय श्रमदान ३ लाख ६६ हजार सात सय ५० गरी कुल २० लाख ६६ हजार ७ सय ५० रुपियाँको लागतमा भ्यु–टावर बनाइएको गाउँपालिकाले जनाएको छ ।झाँक्रीपानीमा पुगेर सुन्दर दृश्यहरू नियाल्नका लागि भ्यु–टावर निर्माण गरेपछि अहिले पर्यटकको आगमनमा वृद्धि भएको स्थानीयले बताएका छन् ।

झाँक्रीपानी गाउँ नजिकै ऐतिहासिक चिनाकोट दरबार रहेको छ । झाँक्रीपानीदेखि आधा घण्टाको दुरीमा रहेको उक्त दरबारबाट पनि मनोरम हिमश्रृङ्खलासहितको दृश्यावलोकन गर्न सकिन्छ ।मंगला गाउँपालिकामा बराङ्जाको झाँक्रीपानी, चिनाकोट, कुहुँको टोड्के, अर्मनको चाङ्गा र तीनचुलेलगायत पर्यटकीयस्थलहरू रहेका छन् । गाउँपालिकाभित्र विभिन्न वडामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको विकास निर्माण गर्नका लागि जोड दिइएको मंगला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसीले बताउनुभयो ।

Leave a Reply