रिटायर्ड लाइफमा सुविधायुक्त सहरमा बसेर मस्तीको जिन्दगी जिउन छाडेर बेलायती सेनाका एक जना रिटायर्ड लाहुरे जन्मथलो म्याग्दीमा सामाजिक काम गरिरहेका छन्। ६५ वर्षको उमेरमा पनि तन्नेरी जोस बोकेर अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा क्रियाशील चामबहादुर पुन सामाजिक अभियन्ता हुन्। 

सामाजिक अभियन्ता चामबहादुर पुन

उनको नेतृत्वमा करबाकेली बाबाको अनुसन्धान, करबाकेली थान निर्माण, करबाकेली इको टे«क ब्राण्डिङलगायतका काम भैसके। यतिबेला उनी पुन समुदायको संग्रहालय बनाइरहेका छन्।

‘संग्रहालयको लगभग काम सकियो’, उनले भने, ‘हामी धमाधम सजावटका गरिरहेका छौं।’ पश्चिम नेपालमा बसोबास गर्ने पुन समुदायको जन्मदेखि मृत्यू संस्कार झल्काउने संग्रहालय बनाइएको हो। यत्तिको कलात्मक संग्रहालय भवन गण्डकी प्रदेशमै अर्को छैन।

उनले गरेको सबैभन्दा महत्वपूर्ण काम करबाकेली बाबाको अनुसन्धान र करबाकेली थान निर्माण हो। पुन समुदायका कुल देवता हुन्–करबाकेली बाबा। काफलडाँडा (२३३२ मिटर)मा बनाइएको थानमा करबाकेली बाबा, उनका दुई श्रीमती हिमला एवं फिमला र छोराहरू रामचन तथा कुलचनका मूर्ति छन्।

यही थानलाई जोड्ने गरी ‘करबाकेली इको टे«क’ एक्सप्लोर गरिएको छ। वि.सं. २०७५ वेशाखमा एक्सप्लोर गरिएको यस पदमार्गले पुनहिलबाट फूलबारी, करबाकेली थान हुँदै बेनी बजारलाई जोड्छ।

यी सबै काम पुरा गर्न ठूलो रकम खर्च भैसकेको छ। सामाजिक अभियन्ता पुनले स्वदेश तथा विदेशमा बस्ने मनकारीबाट सहयोग जुटाएका हुन्। काम प्रतिको समर्पण र इमान्दारीका कारण उनको होस्टेमा सबैले हैंसे गर्छन्।

करबाकेली थानसँगै सामुदायिक पाहुना घर बनाइएको छ। ‘मुख्य काम पुरा भैसक्यो। अब आराम गृह र किचेन बनाउँछु’, उनले योजना सुनाए। अबका केही वर्ष निरन्तर सामाजिक काममा लाग्ने उनी बताउँछन्।

आज स्वदेश तथा विदेशमा करबाकेली चर्चित भैसक्यो। करबाकेली विकासको अभियानमा अघि बढ्दा उनलाई धेरैको साथ सहयोग मिलेको छ।

उनले जीवनका उर्वर १५ वर्ष बेलायती सेनामा खर्च गरे। उनी विसं २०३० मा भर्ती भएर २०४४ सालमा रिटायर्ड भए। लाहुरे बन्दा आर्थिक रुपमा सबल त भए तर गाउँको गरिबी कसरी मेटाउन सकिएला भन्ने कुरा पल्टनमै छँदा उनको मनमा खेलिरहन्थ्यो।

समय वित्दै गयो। उनले वि.सं २०५७ सालदेखि आफूलाई पूर्ण रुपमा समाज सेवामा समर्पित गरे। पुन समुदायको संस्कार, संस्कृति र जीवनशैलीको संरक्षणका काममा निरन्तर लागिरहे। यसै क्रममा करबाकेली अनुसन्धान समिति गठन, करबाकेली थान निर्माण, पदमार्गको ब्राण्डिङ, संग्रहालय निर्माणलगायतका काम भएका हुन्।

उनले करबाकेली बाबा, पुन संस्कार आदिका विषयमा समेत किताब लेखेका छन्। त्यसैगरि पुन भाषाका दुइटा चलचित्र बनाएका छन्, एज्यू भाग १ र भाग २।  चलचित्रमा उनको भूमिका खलनायकको छ तर वास्तविक जीवनमा भने उनी नायक बनिसके।

‘सत्कर्मबाट आत्मसंतुष्टि पाएको छु’, सामाजिक कामले जीवनमा ऊर्जा बढेको सुनाउँछन्, ‘सकारात्मक सोच र सकारात्मक कर्मले हामीलाई स्वर्गमा डोर्‍याउँछ।’

उनी यता बसेर सामाजिक काम गर्छन्। उनको परिवार बेलायतमा बस्छ। जब बेलायत सरकारले पूर्व गोर्खा सैनिकलाई आफ्नो देशमा आवासीय रूपमा बस्ने सुविधा दियो तब उनीहरू बेलायतमा बस्न थाले। त्यही सिलसिलामा सन् २००६ देखि उनी बेलायत बसाईँ सरेका।

उनी परिवारसँगै बसाइँ सरे तर उनको मन यतै बस्यो। त्यसैले अचेल वर्षका ६ महिना नेपाल र ६ महिना बेलायतमा बस्छन्। उनलाई परिवारको ठूलो सहयोग छ।

‘परिवारको सहयोग विना म यहाँ काम गर्न सक्ने थिइन्’, सामाजिक अभियन्ता पुन भन्छन्, ‘अर्को कुरा करबाकेलीका भक्तहरूको आर्थिक तथा नैतिक सहयोगले नै यी सबै काम गर्न सकेका हौं। त्यसैले म उहाँहरू प्रति आभारी छु।’

उनी कालफलडाँडामै जन्मिए। यतै हुर्किए। १४ वर्षको उमेरमा एकैपटक कक्षा २ मा टेके। त्यस भन्दा माथिल्ला कक्षा पढ्न पाएनन्। जीवनको रंगमञ्चमा भने निकै उतारचढाव भोगे। र, पछिल्लो कालखण्डमा सामाजिक योगदान गरेर सार्थक जिन्दगी बाँचिरहेका छन्।

आज कोरोना भाइरसले संसारलाई रुवाएको छ। समय सधैं यस्तै रहने छैन। उनी बाँकी जीवन पर्यटन विकास र कृषिमा आधुनिकिकरण अभियानमा विताउन चाहन्छन्।

‘आफ्नो लागि त जनाबर पनि बाँच्छ’, उनले सुनाए, ‘मान्छे भएर जन्मिएपछि हामीले समाजका लागि पनि केही गर्नै पर्छ।’
सम्पर्कः चामबहादुर पुन–९८४९६२६१२९ 

 

करबाकेली इको ट्रेक एक्सप्लोरेसन समूह। 

करबाकेली थान भित्र करबाकेली बाबाको परिवार। 
अन्नपूर्ण गाउँपालिका–८, काफलडाँडामा करबाकेली थान। 
काफलडाँडाबाट देखिएको कुमारी हिमाल माछापुच्छ्रे।  
काफलडाँडाबाट देखिएको धौलागिरी हिमाल। 
पाहुनाको स्वागतमा उभिएका युवा। 
पुन सामुदायिक संग्रहालय। 
पुर्ख्यौली नाचका कलाकार. Source:Setopati.com

Leave a Reply