विहानको ६ नबज्दै म्याग्दीको बेनी नगरपाकिला-२ बगरफाँटका किसानहरु मकै गोड्नका लागि खेतमा पुगिसकेका हुन्छन् । मुखमा मास्क र हातमा कोदालो बोकेर खेतका गह्रामा मकै गोड्दै गरेका किसानलाई यतिबेला कोरोना संक्रमणको डर भन्दा बाली नसप्रिएको चिन्ताले पिरोल्न थालेको छ ।

गण्डकी प्रदेशमै कोरोनाको हटस्पट बन्दै गएको हिमाली जिल्ला म्याग्दीका कृषकहरु स्वास्थ्य सुरक्षालाई पनि ध्यान दिँदै खेतीपातीको काममा व्यस्त छन्।

जिल्लाका ग्रामिण क्षेत्रमा भुसको आगो झैं कोरोना संङ्क्रमण फैलदै गएको भएपनि काम नगरीनहुने वाध्यता भएकोले आफूहर सुरक्षा सावधानी अपनाउँदै खेतीपातीको काममा व्यस्त हुनुपरेको किसानहरुले बताएका छन्।

अहिले गाउँमा मकै गोड्ने,धानको बिऊ राख्ने र खेतवारीमा मल राख्ने समय भएको छ । खेतीपातीको काम समयमा नै गर्नुपर्ने भएकोले माक्स लगाएर सकेसम्म भौतिक दूरी कायम गरी मकै गोड्न थालेको बेनी नगरपालिका २ बगरफाँटकी सावित्रा शाहले बताइन् ।

आफुले दुख नगरी खान नसकिने भएकाले सुरक्षित रहदै आफुहरु खेतीपातीमा जुटेको कृषकहरुको भनाई रहेको छ । रोगभन्दा भोक र्टान समस्या हुने भएकोले जोखिम भएपनि सकेसम्मको सावधानी अपनाएर काममा खटिनुपरेको अर्का कृषक टेकबहादुर कार्कीको भनाइरहेको छ ।

‘रोगभन्दा ठूलो भोक रहेछ, परिवार र छोराछोरीहरुको दुईछाक टार्नै भएपनि खेती गर्नु पर्छ, रोगसँग डराएर मात्र पनि त भएन नि।’ खबराका कृषक चन्द्रबहादुर कार्कीले भने ‘गतवर्ष पनि खेती लगाउने बेलामा नै कोरोनाले दुःख दिएको थियो,यस वर्ष पनि यस्तै भयो, कोरोनासंग डराएर खेती नगर्ने हो भने त भोकभोकै मर्नुपर्ने दिन आउँछ ।’

शाह र कार्की मात्र होइन अहिले धेरै कृषकहरु खेतवारीमा ब्यस्त छन । ‘के गर्नु मानो रोपेर मुरी फलाउने बेला हुँदै छ, कोरोना रोगभन्दा हामीलाई परिवारको पेट भर्ने चिन्ताले पिरोल्छ’ मंगला गाउँपालिका ३ का कृषक युमाकान्त सापकोटाले भने ‘गाउँमा भने जति खेतालो पनि पाइन्नन्, अर्मपर्म नगरीकन खेती लगाउनै सकिदैन ।’
बर्षातको खेती सिजन सुरु भएसंगै बजारबासी भन्दा गाउँका कृषकलाई बालीनाली लगाउन बढी चटारो छ ।

कोरोना महामारीको वास्तै नगरी धान, कोदोको विऊ राख्न र मकै गोड्न यहाँका कृषकहरु व्यस्त छन ।
कृषिबाट जिविका चलाउने उनीहरूलाई यतिबेला खेतीपाती लगाउन फुर्सद छैन । केही अन्न जोहो नगरी बाँच्ने विकल्प नभएका किसान यतिबेला खेतबारीमा साँझ बिहानै व्यस्त बनेको मंगला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए ।

कोरोना भाइरसको दोश्रो लहर सुरु भएसंगै शहरबजार बस्नेहरू पनि धमाधम गाउँ फर्किएका छन् । खेतीपातीको सिजन सुरु भएकाले पनि गाउँ नै उत्तम विकल्प भएको उनीहरू बताउँछन । शहर भन्दा पनि गाउँघर नै सुरक्षित र उत्तम विकल्प भएको धौलागिर गाउँपालिका ३ मुनाका पुर्म पुनले बताए ।

‘कोरोनाले नानीहरूको स्कुल बिदा भयो, यो महामारीमा त गाउँमै काम र समय कटाउनु आराम छ,त्यसैले शहरबाट गाउँमा फर्किएका व्यक्तिहरु पनि अहिले खेतीपातीको काममा व्यस्त भएका हुन् ।’ धौलागिरि गाउँपालिका ३ मुनाका वडाअध्यक्ष समेत रहेका पुनले भने ।

खेतीयोग्य जमिनमा बृद्धि, पर्याप्त सिँचाई र रोग, किराको प्रकोपमा हटेपछि गत वर्ष म्याग्दीमा धान उत्पादन बढेको थियो । २ लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको म्याग्दीमा ३० हजार ८५६ हेक्टर जमिन मात्र खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

१ लाख १३ हजार ६४१ जनसंख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसंख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भएपनि उनीहरुले व्यावसायिकरुपमा उत्पादन गर्न सकेका छैनन् भने ७ प्रतिशत जनताले व्यावसायिकरुपमा नै कृषि पेसा अंगालेर मनग्गै कमाइ गर्न सफल भएका छन् ।

गोठेमलको प्रयोग र यस वर्ष पर्याप्त बर्षातले सिँचाई पुगेकाले पनि किसानलाई समयमै खेती लगाउन धेरै सहज भएको छ । सरकारले महामारीमा स्वास्थ्य मापदण्ड अपनाउन लगाएपनि समयमा नै मल आवश्यक पर्ने किसानलाई मल उपलब्ध गराउन कार्यालयले आवश्यक तयारी पनि गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

Leave a Reply