बेनी अस्पतालमा २६ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)का बिरामीको चाप बढ्न थालेपछि अस्पतालको निर्माणधिन अवस्थामा रहेको भवनमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी), बेनी नगरपालिका र बेनी अस्पतालको सहकार्यमा आइतबारदेखि आइसोलेसन कक्ष सञ्चालन गरिएको हो ।

होम आइसोलेसनमा बसेका बिरामीमा स्वासप्रस्वास सहित विभिन्न समस्या आएपछि अस्पतालमा भर्ना हुन थालेपछि चिकित्सकको नियमित निगरानीका लागि आइसोलेसन कक्षको स्थापना गरिएको बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवालले बताए । उनका आइतबार ७ वटा बेड सञ्चालन गरिएपनि अन्य बेडहरू समेत तयारी अवस्थामा रहेको बताए ।

 

आइसोलेसन कक्षको भौतिक संरचना ब्यवस्थापन र मर्मतका लागि बेनी नगरपालिकाले डिसिसिएमसीको सिफारिसमा ६ लाख ३७ हजार आर्थिक सहयोग गरेको थियो ।

अस्पतालका आकस्मिक कक्ष नजिक रहेकाले चिकित्सकलाई समेत निगरानी र बिरामीलाई आवश्यक परार्मश दिन सहज हुने बताइएको छ । आइसोलेसन कक्षमा अक्सिजन कन्सन्ट्रेटर सहित हाइ फ्लो अक्सिजन चाहिने बिरामी र स्वासप्रस्वासमा समस्या समस्या र अन्य संक्रमतिलाई छुट्टै राखिने छ ।

कोरोना भाइरसका बिरामी होम आइसोलेसन बसेको अवस्थामा एक्कासी स्वास्थ्यमा समस्या आएपछि धमाधम अस्पतालमा भर्ना हुन थालेकाले हाल आकस्मिक कक्ष र ओपिडीको प्रवेशद्धारमा बेड राखेर उपचार भइरहेको छ । संक्रिय संक्रमित उपचारका लागि बेनी अस्पतालमा पुग्ने गरेको अवस्थामा अधिकांसको शरीरमा अक्सिजनको मात्रा कम र निमोनियाबाट ग्रसित रहेको देखिएको छ ।

Leave a Reply