पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका-२, लुलाङको लम्सुङमा आइतबार ७ जनाको एन्टीजेन परीक्षणमा गरिएकोमा ७ जनामै कोरोना पोजेटिभ देखियो । सोही वडाको लुलाङ गाउँमा गरिएको अर्को परीक्षणमा २१ जनामा ७ जनामा कोरोना पुष्टी भयो । जिल्लाको विकट बस्तीमा पर्ने लम्सुङ र लुलाङमा कोरोना संक्रमण र लक्षणसहितका संक्रमितहरू ह्वात्तै बढेका छन् ।

हालसम्म कोरोनाकै कारण सोही वडाका २ जनाको उपचारको क्रममा पोखरामा ज्यान गएको छ भने एक संकास्पद विरामीको बाटोमै मृत्यु भइसकेको छ । परीक्षण नगरिएका कोरोनाका लक्षणसहितका बिरामीको संख्या अझै छन् ।

जिल्लाको विकट बस्तीमा पर्ने लुलाङमा कोरोना भुसको आगो जस्तै सल्किरहेको छ । जिल्लामा एउटै वडामा कोरोनाका कारण मृत्यु हुनेमा लुलाङ अगाडी छ ।

लक्षण देखिएपछि पनि घरमै बस्ने, समयमै उपचारका लागि स्वास्थ्यचौकी समेत नजाने गरेकाले समुदाय कोरोनाको चपेटामा परेको स्थानीय यूवा रेशमबहादुर विकको भनाई छ ।

‘समुदाय नै कोरोनाको जोखिममा छ, सिकिस्त भएपनि समयमै उपचार पाउन मुस्किल छ, सबै त्रसित अवस्थामा छन्’ विकले बेनीअनलाइनलाई भने। उनले धमाधम नयाँ संक्रमति भेटिन थालेपछि समुदायमा थप जोखिम बढेको बताए ।

गाउँमा मृत्युसंस्कारमा सहभागी भएकाहरू र पोखराबाट आवतजावत गर्नेबाटै कोरोना फैलिएको आशंका गरिएको छ । कोरोनाकै कारण ज्यान गुमाएकाहरूको काजकृयामा सहभागी हुन जाने, भौतिक दुरी र मास्कको प्रयोग नगर्ने जस्ता गतिविधिले कोरोना समुदायमा फैलिएको स्वास्थ्यकर्मीको भनाई छ ।

कोरोनाको कारण ज्यान गुमाएकाको काजकृयामा समेत हेल्चेक्राई भएकै कारण थप संक्रमण फैलिएको अनुमान गरिएको छ । गाउँमा मृत्युसंस्कारमा समुदायले गर्नुपर्ने जिम्मेबारीलाई सावधानी अपनाउन नसकिएको गाउँपालिकाका स्वास्थ्य संयोजक सम्झना केसीले बताईन् ।

‘हामीले दलित समुदायमै गरिएको परीक्षणले समेत सोही अनुमानलाई पुष्टी गर्न सकिन्छ,‘अझै पनि सावधानी हुन सकेमा कोरोना नियन्त्रणमा आउँछ’ संयोजक केसीले भनिन् ।

गाउँमा बैशाख २१ गते अगाडी कोरोनाको लक्षण एक बिरामीको मृत्यु भएपनि गाउँमै अन्त्येष्टी गरिएको थियो । धेरैमा रुघा र ज्वरो देखिएपछि गाउँपालिकाको टोलीलेकन्ट्राक टेसिङमा परेकामा कोरोना संक्रमण देखिएसँगै हटस्पट’ बनेको थियो । कोरोनासँग मिल्ने लक्षण भएका बिरामी अझै भएकाले संक्रमतिको संख्या थप बढ्न सक्ने देखिन्छ ।

संक्रमतिको सम्पर्कमा र धेरै घुलमिल हुनेहरुमा कोरोना देखिएकाले जनस्तरबाटै सतर्क नभए स्थिती नियन्त्रण बाहिर जाने जोखिम पनि उत्तिकै रहेको गाउँपालिकाले जनाएको छ । एन्टीजेन्ट किट प्रयोग गरी कोरोना परीक्षण टेष्टको विश्वसनीयता पीसीआर परीक्षण सरह हुने भएकाले समुदायस्तरमै चेकजाँच गर्दा नतिजा भयावह देखिएको स्वास्थ्यका जानकारहरु बताउँछन् ।

Leave a Reply