म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङमा फैलिएको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि नेपाली काँग्रेसको गाउँपालिका कमिटिले सञ्चालन गरेको ‘हेल्लो जय नेपाल’ अभियान मार्फत स्वास्थ्य सामाग्री सहयोग गरिएको छ ।

४ सय थान मास्क, एक सेट पिपिई, ग्लोब्स, सेनिटाईटर लगायतका स्वास्थ्य सामाग्री सहित टिटामोल र डिकोल लगायतका अत्याबश्यक औषधी समेत गरि रु २० हजार बराबरको सहयोग गरिएको काँग्रेस धवलागिरि समितिका सचिब नगेन्द्र मल्लले जानकारी दिनुभयो ।

समितिका सहसचिब एवम हेल्लो जयनेपाल अभियानका संयोजक मल्ल र कोषाध्यक्ष बुद्धिमान शेरपुञ्जाले वडा सचिब गिरिराज शर्मा र स्वास्थ्य चौकीका सविन लामगाडेलाई उक्त सामान हस्तान्तरण गर्नुभएको थियो ।

अभियान आर्फत गाउँपालिकासंग समन्वय गरि विरामीहरुलाई स्वास्थ्य संस्था र अस्पतालहरुमा लैजानका लागि आपतकालिन यातायात सेवाको लागि अक्सिजन सहितको यातायात समेत उपलब्ध गराईएको जनाईएको छ । लुलाङमा कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिएपछि गाउँपालिकाले समेत परिक्षण र रोकथामको लागि जनचेतना अभिवृद्धी संगै उपचारको काम अघि बढाएको छ ।

यसैबिच कोरोना संक्रमितलाई स्वासप्रस्वासमा समस्या देखिएमा आपतकालिन रुपमा अक्सिजन दिएर अस्पताल सम्म लैजानका लागि मलेसियामा रहनुभएका लुलाङका भो बहादुर विश्वकर्माले काठमाण्डौ बाट पठाउनुभएको अक्सिजनहरु समेत स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको छ ।

Leave a Reply