बेनी-जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्रे सुरु भएको छ ।

उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरीडोर अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाट देखि वडा न. १ बेगखोला जोड्ने सडक आइतबार देखि कालोपत्रे सुरु भएको हो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्ट्रक्सनले कालोपत्रे गर्न प्राइम (बिटुमिन) बिछ्याउन सुरु गरेको हो ।

ओमकारेश्वर कन्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटो देखि गलेश्वर तर्फ प्राइम कोड हालेर कालोपत्रेको काम सुरु गरेको बताउनुभयो । मौसमले साथ दिएमा गलेश्वर देखि बेगखोला सम्मको ८ किलोमिटर सडक मध्य ६ किलोमिटर जेठ महिनाभित्र कालोपत्रे गरिसक्ने उहाँले बताउनुभयो ।

सात मिटर चौडाईमा डिबिएसडी प्रबिधीको कालोपत्रे गर्ने तीन चरणमा बिटुमिन र चिप्स राखेर रोलरको पोल्नुपर्छ । ट्याङ्करमा १३५ डिग्री तापक्रममा बिटुमिन पकाएर फोहोरा पारी सडकमा छर्किने प्रबिधी अपनाइएको छ ।

सडक बिस्तार, नाली र पर्खाल निर्माण सकेर सब बेस बिछ्याउने र रोलरले पेलिएको खण्डमा कालोपत्रे गर्न लागिएको हो । अधिकांश भाग कालोपत्रेका लागि तयार भएको छ । गलेश्वर–बेगखोला खण्डको सडक ११ मिटर फराकिलो बनाइएको छ । अधिकांश ठाउँमा पर्खाल र नाली निर्माण गरिएको छ । नाली र पर्खाल निर्माण भएको ठाउँमा गिट्टी, बालुवा बिछ्याएर रोलरले पेलिएको हो ।

कोरोना महामारी र रोकथामका लागि गरिएको निषेधाज्ञाका बावजुद स्थानीय प्रशासन, बेनी–जोमसोम–कोरला सडक आयोजना र स्थानीय पालिकासँग समन्वय गरेर मजदुर, उपकरण र निर्माण सामग्री जुटाएर कालोपत्रे गर्न लागिएको ओमकारेश्वरका सञ्चालक दाहालले बताउनुभयो ।

मुख्य ठेकेदार शर्मा–युनाइटेडले अधुरो बनाएको सो सडक २०७६ फागुन देखि ओमकारेश्वरले जिम्मा लिएको थियो । ओमकारेश्वरले जिम्मा लिएपछि कामले तिब्रता पाएको हो । गत वर्षनै कालोपत्रे गर्ने तयारी गरिएपनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि हुन लागेको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो ।

बि.स. २०७४ साउन देखि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । करिब रु. ६ अर्ब लागतको यस आयोजनाको ११० किलोमिटर दुरीको जोमसोम–कोरला खण्डको ८५ र बेनी–जोमसोम खण्डको ६० प्रतिशत भौतिक प्रगति छ ।

७ प्याकेजको जोमसोम–कोरला खण्डको ४ वटा प्याकेजको काम निर्माण सकिएको छ । आयोजना अन्तरगतकै बेनी नगरपालिका ९ गलेश्वरको करिब एक किलोमिटर सडक पनि कालोपत्रेको तयारी भएको छ । बेनी–जोमसोमको तेस्रो प्याकेजको सडक पनि धमाधम कालोपत्रे भइरहेको आयोजनाका इञ्जिनियर आशिस मानन्धरले बताउनुभयो ।

गलेश्वर, महभिर र पोखरेबगरको बेलिब्रिज बिस्थापित गरेर पक्की पुल निर्माण अन्तिम चरणमा पुगेको छ । बेनी–जोमसोमको चार प्याकेज (भाग)मा छुट्टा–छुट्टै निर्माण कम्पनीहरुसंग दुई अर्ब पचास करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

तिन अर्ब चालीस करोड रुपैया लागत अनुमान गरिएको थियो । बेनी–घाँसा खण्डका दुई वटा प्याकेज र घाँसा जोमसोम खण्डको एउटा प्याकेजको कामको ठेक्का शर्मायुनाईटेड जेभीले लिएको थियो ।
घाँसा जोमसोम खण्डको अर्को एउटा प्याकेजको काम गर्ने ठेक्का पप्पुतामाङकोशीन्यौपाने जेभीले लिएको छ । बेनी घाँसा खण्डमा डिबीएसडी र घाँसा जोमसोम खण्डमा असपाल्ट प्रबिधिको कालोपत्रे गरिने भएको छ ।

वि.स २०६४ मा नेपाली सेनाले ट्याक खालेर वि.स २०६७ मा सडक बिभागलाई हस्तान्तरण गरेको बेनी जोमसोम सडक हाल कच्चि अवस्थामा थियो । २०७६ असारभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि ढिलासुस्तिले काम प्रभावित भएको हो । यो सडकलाई गण्डकी प्रदेशको “भाग्यरेखा” मानिएको छ ।

सडकले पुर्वाधार, आर्थिक, ब्यापारीक, जलविद्युत, पर्यटन र धार्मीक स्थलको विकासका लागि महत्वपूर्ण योगदान पुग्ने मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो ।

कोरला नाका सञ्चालन गर्ने वातावरण बन्ने, आन्तरिक तथा बाह्य पर्यटक एवं तिर्थयात्रीको आगमन बढ्ने, स्थानीयबासीलाई सुबिधा पुग्ने, कालीगण्डकी र आसपासका नदीहरुमा जलविद्युतको विकास हुने अपेक्षा गरिएको छ ।

Leave a Reply