म्याग्दीका स्थानीय तह गतबर्षको पहिलो लहरको कोरोना ब्यवस्थापन तथा नियन्त्रण भन्दा दोस्रो लहरको कोभिड-१९ मा सक्रिय देखिएका छन् । म्याग्दीमा तीव्र रुपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता पहिलो लहरभन्दा निकै बलियो र प्रभावकारी देखिएको हो ।

सदरमुकाम बेनीदेखि दुर्गम क्षेत्रसम्म कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्बाब संकलन, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा संक्रमतिको भेटघाट, औषधी वितरणका साथै सिकिस्त विरामीलाई एम्बुलेन्स मार्फत अस्पतालमा लैजाने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र उपचारभन्दा बढी प्राथमिकता खाद्यान्न वितरणमा ब्यस्त भएका जनप्रतिनिधिले दोस्रो लहरमा उपचार र रोकथाममै बढी ध्यान केन्द्रित गरेका छन्। बेनी नगरपालिकाले वडास्तरमै पुगेर स्बाब संकलन गरिरहेको छ भने बिरामीको उपचारमा मेयरले दिएको दुई निजी सवारीसाधन, भाडा र नगरपालिकाको स्वामित्वमा रहेको गाडी समेत प्रयोग गरेको छ ।

सदरमुकाम बेनीबजार रहेको वडा नं ७ र ८ लाई बेनी अस्पताल र अन्य ८ वडामै पुगेर स्बाब संकलनलाई नगरपालिकाले प्राथमिकता दिएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुबेदीले बताए । कोरोनाको सबैभन्दा बढी संक्रमति नगरपालिका भित्रै भेटिएपछि यसपटक स्वास्थ्यकर्मी समुदायस्तरमै विभिन्न माध्यमबाट पुगेको उनको भनाई छ ।

होम आइसोलेसनमा बसेका संक्रमतिलाई भेट्न वडास्तरमा स्वास्थ्यकमी सहितको टोली समेत परिचालन गरिएको थियो । नगरपालिकाले बेनी अस्पताललमा आइसोसेलन कक्ष बनाउन समेत ७ लाखको हाराहारीमा सहयोग गरेकाले समेत होम आइसोलेनमा सिकिस्त भएका संक्रमतिलाई अस्पतलामा भर्ना गरी उपचारको ब्यवस्था मिलाइएको छ ।

मंगला गाउँपालिकाले वडास्तरमा स्बाब संकलन, नियमित अनुगमन तथा कोरोनाको लक्षण देखिएकालाई निशुल्क एम्बुलेन्स, संक्रमतिको अवस्था बुझ्न स्वास्थ्यकर्मी सहितको टोली घरघरमा समेत पुग्ने गरेको प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुंगानाले बताए ।

मालिका गाउँपालिकाले समेत संस्थागत आइसोलेसन, स्बाब संकलन तथा संक्रमणबाट समुदायलाई जोगाउन आवश्यक विभिन्न गतिविधिहरु गरिरहेको छ । हरेक वडाका संक्रमतिको अवस्था बुझ्न र जनस्वास्थ्यका मापदण्डको पालनामा ध्यान दिइएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै धवलागिरी गाउँपालिकाले समेत संक्रमण फैलिएको बस्तीमा कोरोना परीक्षणको दायरालाई फराकिलो पारेको छ । सबैभन्दा जोखिम रहेको वडा नं २ लुलाङमा पटकपटक कोरोना अस्थायी अस्पतालका चिकित्सक सहित जनप्रतिनिधिको टोली पुगेको छ ।

त्यस्तै अन्य वडामा समेत लक्षण देखिदाँ वित्तिकै स्बाब संकलन र एन्टीजेन परीक्षण गरिरहेको छ । कोरोनाका लक्षण देखिएका बिरामीको उपचारका लागि समुदायस्तरबाट समेत सहयोग जुटेको छ भने जनप्रतिनिधि समेत निरन्तर खटेका छन् ।

यता रघुगंगा गाउँपालिकाले बस्तीमै पुगेर कोरोना परीक्षण सहित संक्रमतिलाई होम आइसोलेसन र संस्थागत आइसोलेसनमा राखेर उपचार गरिरहेको छ । रघुगंगामा संक्रमतिको शरीरमा आवश्यक अक्सिजनको अभाव हुन नदिन गाउँपालिकाको आफ्नै र रघुगंग जलविद्युत आयोजनामार्फत ब्यवस्थापन गरी ४० सिलिण्डर तयारी अवस्थामा राखेको छ ।

त्यस्तै गाउँपालिका भित्रका सबै वडामा पुगेर संक्रमतिको अवस्था बुझ्ने, निशुल्क औषधी वितरणलाई समेत जोड दिएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

‘हरेक संक्रमतिसँग स्वास्थ्यकर्मीको नियमित सम्पर्क छ,‘समुदायस्तरमै पुगेर धेरै काम समेत भएका छन्, समुदायले संक्रमतिलाई निशुल्क भोजनको ब्यवस्थापन मिलाएकाले धेरै सहज भएको छ’ सुबेदीले भने ।

उत्तरी म्याग्दीमा अवस्थित अन्नपूर्ण गाउँपालिकाले समेत अस्थायी कोरोना अस्पताललाई ब्यवस्थित र प्रभावकारी बनाएको छ भने संक्रमतिको पहिचान, उपचार तथा मृत्यु भएमा शब ब्यवस्थापनमा गाउँपालिकाले ब्यवस्थित बनाएको छ ।

कोरोनाको अस्थायी अस्पतालमा उपचार हुन नसकेपछि चिकित्सकमार्फत बेनी अस्पतालमा समेत समन्वय गर्ने तथा संकास्पद विरामीलाई तत्कालै स्बाब संकलन गरी घरमा अन्य सदस्यभन्दा अलग्गै बस्न स्वास्थ्यकर्मीको टोली जनप्रतिनिधिसँगै पुग्ने गरेका छन् ।

कोरोनाको पहिलो लहरमा गत वर्ष राहतमा खर्च भएपनि यसबर्ष कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले समेत संक्रमण फैलिन नदिन र संक्रमतिको उपचारमै केन्द्रित हुन स्थानीय तहलाई अनुरोध गरेको थियो ।

यसबर्ष स्थानीय तहको सक्रियताकै कारण पिसिआरका लागि स्बाब संकलन, सङक्रमितलाई आइसोलेशन तथा अस्पतालमै पु¥याउने, कन्ट्याक्ट ट्रेसिङमा गरेकालाई समेत होम आइसोलेसनमा राख्नका लागि टोलबासीसँग समन्वयकार्य भूमिकाले सहज भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ ।

यसपटक स्थानीय तहको तयारी लोभलाग्दो रहेको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका संयोजक एवम् प्रजिअ गणेशबहादुर अधिकारीले बताए । प्रजिअ अधिकारीले संक्रमतिको ट्रेसिङ, टेस्टिङ र टिटमेन्टमा स्थानीय तहको सक्रियताबाट उत्साहित रहेको बताए ।

’कतै कमीकमजोरी भए तत्काल सुधारका लागि अनुरोध गर्ने गरेका छौ,‘जनप्रतिनिधि कोभिड नियन्त्रणमै होमिनुभएको छ’ प्रजिअ अधिकारीले भने । विभिन्न जिल्लाबाट सदरमुकाम बेनी प्रवेश गर्नेलाई लक्षित गरी तयार गरिएको होल्डिङ सेन्टरबाट स्थानीय तहमा पुगेकालाई समेत निगरानीमा यसपटक धेरै चासो दिइएको छ ।

म्याग्दीका स्थानीय तहले स्बाब संकलनलाई तिब्रता दिएकाले समेत गण्डकी प्रदेशमा धेरै स्बाब संकलन हुने जिल्लाभित्र समेत म्याग्दी पर्ने गरेको छ । म्याग्दीमा कोरोना संक्रमितको संख्या जम्मा संख्या ९९४ जना पुगेको छ (८४७ पिसिआरबाट र १४७ एन्टीजेन विधिबाट) रहेका छन् । भने ४०९ जना सक्रिय संक्रमित रहेका छन । अहिले सम्ममा अब ६६३ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ ।

Leave a Reply