म्याग्दीमा सामाजिक एवम् मानवीय सेवामा सक्रिय गंगा जिसी फाउण्डेशनले स्वास्थ्य साम्रागी ४८ सय मास्क र ९ सय हात धुने सावुन र सेनिटाइजर वितरण गरेको छ ।

कोरोनाको दोस्रो लहरसँगै म्याग्दीमा संक्रमतिको संख्या निरन्तर उकालो लागेपछि एम्बुलेन्स सेवा सहित समुदायस्तरमा सहयोग अभियानमा जुटेको फाउण्डेशनले मंगला गाउँपालिकामा मास्क २६ सय, सावुन ५ सय र १० थान सेनिटाइजर, अन्नपूर्ण गाउँपालिका–६ न वडामा२ हजार थान मास्क,४ सय साबुन, ६ थान सेनिटाइजर वितरण गरेको फाउण्डेशनका सदस्य सचिव बिमल रिजालले बताए ।

उनका अनुसार फाउण्डेशनले घाराको प्रहरी चौकीलाई १ सय थान मास्क, ५ थान सेनिटाइजर, घार स्वास्थ्य चौकीलाई १ सय थान मास्क वितरण गरेको छ । सहयोग साम्रागी फाउण्डेशनका सदस्य दिनेश केसीले वडा अध्यक्ष कृष्णप्रसाद बरुवाल, प्रहरी चौकीका इन्चार्ज र स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सुजन बरुवाल लगायतको उपस्थिती रहेको थियो । त्यस्तै मंगला गाउँपालिकामा उपाध्यक्ष सिर्जना केसी, वडा नं ५ का अध्यक्ष भुपेन्द्र बहादुर खत्री, वडा नं २ का सदस्य राजु पाण्डे लगायतको उपस्थिती रहेको थियो ।

फाउण्डेशनका अध्यक्ष नारायण घर्ती क्षेत्रीले कोरोना संक्रमतिलाई एम्बुलेन्समार्फत जिल्लाभित्रका विभिन्न स्थानबाट बेनी अस्पतालमा र थप उपचारका लागि पोखरा लैजाने गरिएको बताए ।

‘गाउँमा स्वास्थ्य साम्रागी र बिरामीको उपचारमा एकसाथ जुटेका छौ,‘हामीलाई सहजीकरण गर्नुहुने जनप्रतिनिधिप्रति आभारी छु’ अध्यक्ष जिसीले भने । उनले स्वास्थ्य साम्रागी वितरण अभियानलाई थप तिब्रता दिएको बताए । फाउण्डेशनले जिल्लाका ६ वटै स्थानीय तहमा सहयोग गरेको छ ।

कोरोनाको दोस्रो भेरियन्ट समुदायस्तरमै फैलिएपछि फाउण्डेशनले स्थानीय तहसँग सहकार्य गरी ५ वटा सवारीसाधनलाई एम्बुलेन्स समेत बनाएको थियो भने बिरामीलाई घरबाटै उद्धार गरी अस्पतालसम्म पुर्याउन समेत सहयोगी भूमिका खेलेको छ । मास्क र सावुन वितरण कार्यक्रममा स्वर्गिय सुदिप रावल मेमोरियल ट्रष्टले समेत साथ दिएको छ ।

Leave a Reply