ग्रामिण क्षेत्रमा कोरोना संक्रमति भेटिए त्रसित तथा आंतकी हुने, कोरोनाको सामान्य लक्षण देखिदाँ उपचार अगाडी नै कोरोना संक्रमतिको ट्याग लगाइदिने अझै पनि भेटिन्छन् । कोरोना संक्रमतिले अपमान हुने डरका कारण सकेसम्म लुकाउन समेत खोजेको देखिन्छ ।

तर, म्याग्दीको एक गाउँमा कोरोना संक्रमति भएर आएकालाई गाउँलेले सम्मान र प्रोत्साहन सहित निशुल्क भोजनको ब्यवस्था मिलाएका छन् ।

म्याग्दीको रघुगंगा गाउँपालिका–३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा उपचाररत विरामीहरूलाई स्थानीय युवा क्लब, आमा समूह र सामाजिक संघ संस्थाको समन्वयमा निःशुल्क खानाको व्यवस्था गरिएको छ ।

कोरोना संक्रमण पुष्टी भएर आएका संक्रमतिसँगै आएका आफन्तलाई समेत निशुल्क भोजनालय सञ्चालन गरिएको वडा अध्यक्ष जिवनकुमार मल्लले बताए । ‘संक्रमतिले खानुपर्ने सबै ब्यवस्था मिलाइएको छ,‘घरमै बसेका संक्रमतिलाई भन्दा पनि धेरै सुविधा दिने गरी समुदाय परिचालन भएका छन्’ अध्यक्ष मल्लले भने ।

अस्पतालको नजिकै रहेको मन्दिर परिसरमा सञ्चालन गरिएको भोजनालयमा स्थानीय न्यू सन्तोष सेवा यूवा क्लव, नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा, सिवाईजी क्लब लगायत स्थानीय अन्य संघसंस्थाले संक्रमतिको प्रतिरोधात्मक शक्ती बढाउने खानाहरूलाई प्राथमिकता दिएका छन् ।

‘टाइम–टाइममा आवश्यक पर्ने खानाका लागि मेन्यु नै तयार गरिएको छ,‘समुदायको सहयोगले संक्रमति समेत उत्साहित हुनुहुन्छ’ न्यू सन्तोष सेवा यूवा क्लवका सचिव मुक्तिप्रसाद शर्माले भने ।

उनले विश्वब्यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट जोगिन र संक्रमतिको उपचार तथा रेखदेखमा सघाउनु हरेकको जिम्मेबारी भएको बताए । स्थानीयको उदारहणीय अभियानमा सघाउन स्वदेश तथा विदेशमा रहेका रघुगंगा बासीले समेत साथ दिएका छन् ।

स्वंयमसेवकलले भान्सादेखि संक्रमति भएको आइसोलेसनसम्म विहानदेखि बेलुकी सम्म नै विरामीको लागि खाना संगै तातोपानी, बेसारपानी, सुप लगायतका विरामीलाई आबश्यक पर्ने खानेकुराहरूको निःशुल्क उपलब्धता गराउने गरेका छन् । उपचारपछि घर फर्किने संक्रमतिले समेत सबैलाई भेटेरै धन्यवाद समेत दिने गरेका छन् ।

उपचारको लागि विरामी ल्याएर आएका आफन्तलाई विरामीको लागि खानाको बन्दोबस्त मिलाउन कठिन हुन थालेपछि आवश्यक ब्यवस्थापन समेत गरिएको छ ।

संक्रमित होम आइसोलेसनमा बस्न नसक्ने अवस्थाका र शरीरमा अक्सिजनको अभाव भएकालाई अक्सिजन दिनुपर्ने, दिर्घरोगी संक्रमति संस्थागत आइसोलेसनमा रहेका छन् । हालसम्म आइसोलेनबाट ११ जना कोरोना मुक्त भएर घर फर्किएका छन् भने बिहिबार विहानसम्म ९ जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले बताए ।

स्थानीयले निशुल्क भोजन सहित संक्रमतिलाई हौसला बढाउने काम गरेको भन्दै प्रशंसा समेत भइरहेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि अक्सिजन सहित विभिन्न उपकरणहरू समेत जुटाउने गरिएको छ ।
म्याग्दी रघुगंगा गाउँपालिका–३,पिप्लेमा सञ्चालन गरेको कोभिड अस्थायी अस्पतालमा रहेका संक्रमतिलाई खाना खुवाउँदै स्थानीय ।

Leave a Reply