बैशाख महिनाको अन्तिम साता म्याग्दीका विभिन्न स्थानीय तहमा संकलन गरी बागलुङ अस्पतालमा पठाइएको स्बाबको पिसिआर रिर्पोटमा बिहिबार ४४ जनामा कोरोना संक्रमण पुष्टी भयो । बिहिबार भेटिएका ९० संक्रमतिमध्ये बाँकी ४२ जना एन्टिजेन बिधिका हुन् ।

कोरोना संक्रमण समुदायस्तरमै फैलिएपछि स्थानीय तहले परीक्षणको दायरा फराकिलो बनाउँदा समेत १० दिनसम्म रिर्पोट आउन सकेको छैन् । बेनी नगरपालिका र पाँच गाउँपालिकाले पिसिआर परीक्षणलाई प्राथमिकता दिदैं वडास्तरमै पुगेर स्बाब संकलन गर्दा समेत बागलुङ र पोखरा पठाएको रिपोर्ट आउन ढिलो हुँदा स्बाब दिएकाहरू समुदायस्तरमै घुलमिल हुँदा जोखिम झनै बढेर गएको छ ।

जेठ महिनाको १ गते यता पठाइएको स्बाबको रिर्पोट समेत प्रयोगशालामा छ । बेनी अस्पताल सहित जिल्लाका सबै स्थानीय तहले धमाधम स्बाब संकलन गरेपनि दुई सातापछि रिपोर्ट आउँदा सङ्क्रमितको परिवारमा समेत थप त्रास फैलिएको छ। कोरोनाको लक्षण देखिएको बेलामा स्बाब संकलन गरेपनि रिर्पोट आउने बेलामा निको भएकाहरू अलमलमा पर्ने गरेका एक संक्रमतिले बताए ।

‘अहिले कुनै लक्षण छैन, ढिलो रिर्पोट आउँदा परिवारमा पनि संक्रमण फैलियो कि भन्ने त्रास हुन्छ’ उनले भने । स्बाब दिएको लामो समयसम्म आफ्नो रिर्पोट नआएपछि सामाजिक सञ्जालमै गुनासो समेत गरेको बताए ।
यता स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले प्रयोगशालामा स्बाबको चाप बढेकाले रिर्पोट आउन ढिलो भएको बताए ।

‘अब सबै पालिकाले एन्टिजेन विधिलाई प्राथमिकता दिनुपर्छ,‘पिसिआरको नतिजा नियमित हुन अझै समय लाग्छ’ लम्सालले भने । उनले स्बाब दिएर घरमै बस्नुपर्ने अवस्थामा समुदायमै घुलमिल हुने अवस्था देखिएकाले एन्टिजेन विधिबाट तत्कालै नतिजा आएपछि आइसोलेसनमा राख्न समेत सहज हुने बताए । उनले झण्डै ८ सय को हाराहारीमा अझै स्बाबको नतिजा आउन बाँकी रहेको बताए ।

उनले सबै स्थानीय तहलाई एन्टिजेन विधिको रिर्पोट समेत पिसिआर सरह हुने भएकाले तत्काललाई प्रत्येक पालिकामा ५० किट पठाइएको र आवश्यकता परेमा थप पठाउन सकिने बताए । कोरोनासँग मिल्ने लक्षण देखिएकालाई मात्रै प्रयोग गर्ने गरी पठाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दीमा पहिलो र दोस्रो लहर गरी संक्रमितको संख्या १ हजार नाघेको छ ।

 

Leave a Reply