कोरोनाको कहरले जताततै निराशा उत्पन्न गरिरहेको समयमा म्याग्दीको नयाँ पर्यटकीय स्थल लभ्लीहिलमा भने हावाबाट विजुली बलेपछि उत्साह छाएको छ ।

म्याग्दीको बेनी नगरपालिका-२ खबराको लभ्लीहिल (मायालु डाँडो) मा म्याग्दी ऊर्जा प्रविधि केन्द्रको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको भर्टिकल उइन टर्वाइन मार्फत ४ वटा बल्ब बल्ने क्षमताको विजुली प्लान्ट निर्माण भएको हो ।

म्याग्दी ऊर्जा प्रविधि केन्द्रका प्रमुख दुर्गा श्रेष्ठले रु १ लाख खर्चेर आफ्नै प्राविधिक सीपको प्रयोगगरी हावाबाट विजुली उत्पादन गर्नुभएको लभ्लीहिल निवासी स्थानीय समाजसेवी चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

कार्कीका अनुसार म्याग्दी आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको आकर्षणको स्थल बनेको लभ्लीहिलमा साँझ परेपछि अध्यारो हुँदा निकै असजिलो महशुस हुने गर्दथ्यो । तर,कोरोना कहरकै बीचमा अहिले यहाँ हावाबाट विद्युत उत्पादन गरी श्रेष्ठले उज्यालो बनाइ दिएपछि बेलुकी पख शितल हावा खान यहाँ आउने गाउँलेहरुलाई सहज भएको छ ।

यतिबेला कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाका कारण बेनी वा अन्यत्रबाट मानिसहरु आउन सक्ने वातावरण नभए पनि परिस्थिति सहज हुने वित्तिकै पर्यटकहरुको घुइचो लाग्ने लभ्लीहिलमा स्तरीय रेष्टुरेन्ट र खानेपानीको व्यवस्था भएपनि विजुलीको व्यवस्था भने हुन सकेको थिएन ।

म्याग्दी ऊर्जा प्रविधि सेवा केन्द्रका संचालक श्रेष्ठका अनुसार अहिलेलाई एउटा मात्र बल्ब राखेर परिक्षण गरिएको हो । परीक्षण सफल भएकोले कोरोना संक्रमणको स्थिति अलि सहज भएर निषेधाज्ञा फिर्ता हुने वित्तिकै ४÷५ वटा बल्ब बाल्न सकिने गरी विद्युत विस्तार गर्न सकिन्छ ।

त्यसका लागि एउटा ठूलो टर्वाइन र पोल आवश्यक पर्ने भएकोले अहिले ल्याउन सक्ने अवस्था छैन । स्थिति सहज भयो भने तुरुन्तै त्यो पोल र टर्वाइन ल्याएर जडान गरेपछि ५ वटा बल्ब बाल्न सकिने सम्भावना भएको श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठका अनुसार भर्टिकल टर्वाइन पोलमा हावाको गति कम भए पनि चल्न सक्ने क्षमता हुन्छ ।विद्युत सेवा उपलव्ध भएपछि लभ्लीहिल आउने आन्तरिक तथा वाह्य पर्यटकहरुको संख्यामा बृद्धि हुने अपेक्षा गरिएको छ ।

Leave a Reply