---Advertisement---

बेनी अस्पतालमा पहिलोपटक आन्द्रा काटेर जोड्ने ’सफल शल्यक्रिया’

On: May 21, 2021 11:20 PM
Follow Us:

बेनी अस्पतालमा पहिलोपटक हर्नियामा अड्केको आन्द्रा काटेर जोड्ने शल्यक्रिया सफलतापूर्वक गरिएको छ।

पर्वतको जलजला गाउँपालिकाका-३, का ४२ बर्षिय एक पुरुषको हर्नियामा आन्द्र अड्केको र बटारिएपछि आन्द्रोको केही भाग मरेको अवस्थामा देखिएपछि अस्पतालका मेडिकल कोअर्डिनेटर डा. नवराज बस्ताकोटीको नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको हो ।

हर्नियाको समस्या भएपनि तिनदिन देखि घरमै बसेका बिरामीको पेट फुलेपछि अस्पतालमा पुगेपछि बिरामीको ज्यानकै जोखिमलाई मध्यनजर गरी उपचार गरिएको डा.बस्ताकोटीले बताउनुभयो।

‘कोरोनाको जोखिमले घरमै बस्नुभएको रहेछ,‘पेट फुलेको अवस्थामा आउनुभएको थियो,‘हर्नियामा पुगेको आन्द्रा बिग्रिएको अवस्थामा भेटियो’ डा. बस्ताकोटीले बेनीअनलाइनलाई भन्नुभयो ।

शल्यक्रियाको क्रममा खराब भएको आन्द्राको भाग काटेर फालिएको बताउनुभयो । डा.बस्ताकोटीको नेतृत्वमा भएको शल्यक्रियामा डा.इश्वर पौडेल लगायतका शल्यक्रियाको क्रममा सहभागी हुने यूनिटले साथ दिएको थियो ।

बिरामीको शल्यक्रियापछि समेत अस्पतालमा भर्ना गरी उपचार गरिएको र हाल डिस्र्चाज गरिएको जनाइएको छ । कोरोना संक्रमतिको जटिल अप्रेसन सहित उपचारमा समेत डा. बस्ताकोटी सहितका चिकित्सक फ्रन्टलाइनमा खटिनुभएको छ ।

बेनी अस्पतालमा यसअगाडी महिलाको पाठेघर बाहिर बच्चा बसेको सहित केही दुर्भल शल्यक्रिया गरिएपनि हर्नियामा अड्किएको आन्द्रा नै बिग्रिएको अवस्थामा काटेर जोड्ने उपचार पहिलोपटक भएको डा. बस्ताकोटीको भनाई छ।

अस्पतालका चिकित्सक कोभिडका बिरामीको उपचारमा केन्द्रितसँगै कोरोनाका बिरामीले अस्पतालका बेड भरिभराउ भएपनि शल्यक्रिया सहितको प्रसुती सेवा, जटिल किसिमका बिरामीको उपचार समेत धमाधम भइरहेको छ । कोरोनाको त्रासले कोभिड सर्ला भन्ने मनोविज्ञानले रोग पालेर घरमै नबस्न समेत बेनी अस्पतालले अनुरोध गरेको छ ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।