म्याग्दीमा तीब्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञा (लकडाउन) को अवधि तेस्रो पटक थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आइतबार बसेको बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई लम्बाइएको छ ।

गएको वैशाख ३१ गतेसम्म जारी गरिएको निधेषधाज्ञालाई १० दिन थप गरि जेठ १० गतेसम्म जारी गरिएकोमा जिल्लामा कोरोना संक्रमतिको संख्या दैनिकजसो ह्वात्तै बढेपछि कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएको प्रजिअ गणेशबहादुर अधिकारीले बताउनुभयो ।

‘संक्रमणको जोखिम टरेको छैन्,‘यो अवस्थामा हामी पुरानै मोडेललाई निरन्तरता दिएका छौ’ प्रजिअ अधिकारीले बेनीअनलाइनसँग भन्नुभयो ।

आइतबार स्थानीय तहका प्रमुख सहित सुरक्षा समितिका प्रतिनिधि सहितको बैठकमा स्थानीय तहमा परीक्षणलाई तिब्रता दिइएको अवस्थामा तत्काल खुकुलो बनाउने अवस्था नभएको प्रजिअ अधिकारीको भनाई छ।

‘खाद्यान्न ढुवानीमा केही समस्या भएको बुझिएको छ,‘निजी क्षेत्रसँग समन्वय गरी सहज वातावरण बनाउँछौ,‘कुनै आपत्कालिन समस्या भएमा प्रशासनमा सम्पर्क गर्नुहोला’ प्रजिअ अधिकारीले भन्नुभयो । भाइरसको चेन ब्रेकका लागि अहिलै नै खुकुलो बनाउँदा अवस्था झन भयावह हुने समेत प्रजिअ अधिकारीको तर्क छ ।

गाउँगाउँमा संक्रमित थपिदै गरेको अवस्थामा अहिले नै खुल्ला गर्दा अवस्था नियन्त्रण भन्दा बाहिर पनि जानसक्ने भएकाले म्याग्देली नागरिकलाई खुकुलो नहुदाँसम्म नियमको पालना गर्न समेत प्रशासनले अपिल गरेको छ ।

निषेधाज्ञामा निश्चित समयका लागि खोल्न दिईएका अत्याबश्यके बाहेकका पसलहरु समेत खोल्न रोक लगाईने भएको छ। बिरामी बोक्ने बाहेकको अन्य कार्यमा सार्वजनिक यातायात सञ्चालन गर्न रोक लगाउने, पूर्व निर्धारित विवाहमा घरपरिवार मात्रै सहभागी हुन पाउने, मृत्यु संस्कारका कार्यहरुमा जनस्वास्थ्यका मापदण्डको पालना गरि न्युनतम मानिसहरु मात्रै सहभागी भएर सम्पन्न गर्न आग्रह गर्ने निर्णय गरिएको छ ।

प्रशासनले राहत वितरण तथा सवारीसाधन सञ्चालनमा समेत आवश्यक समन्वय गर्ने सम्बन्धित निकायलाई अनुरोध गरेको छ। निषेधाज्ञा अवधिमा आफ्नै खेतवारीमा कृषिजन्य कार्य गर्ने, औषधी उपचार, लगायतका अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घर बाहिर ननिस्कन र हिँडडुल नगर्न अपिल गरेको छ ।

Leave a Reply