म्याग्दीमा तीव्र रुपमा फैलिएको कोरोना संक्रमणलाई नियन्त्रण र व्यवस्थापन गर्न जारी निषेधाज्ञाको निर्देशनलाई समेत धज्जी उडाउँदै एनएमबी लघु वित्तले समुहमै पुगेर ऋणीबाट किस्ता र ब्याज असुल्ने गरेको पाइएको छ ।

निषेधाज्ञामा सबै बैंक तथा वित्तिय संस्थाको समेत कारोबार बन्द गरिएको अवस्थामा एनएमबीले भने समुहमै पुगेर कारोबार गरिरहेको छ ।

बेनी नगरपालिका–९, गलेश्वरमा रहेको शाखाबाट खटिएका कर्मचारीले छिमेकी रघुगंगा गाउँपालिका–३ मा समुहमा आवद्ध भएकालाई भेला गरी किस्ता र ब्याजको ताकेता गरेको स्थानीयले गुनासो गरेका छन् ।

कोरोना संक्रमणको जोखिमले घरमै बसेकाहरूलाई समुहमा बोलाएर तोकिएको किस्ता र ब्याज लिने गरेकोमा निषेधाज्ञा पछि बुझाउछु भन्नेलाई जरिवाना तिर्नुपर्ने भन्दै ताकेता गरिएको ऋणीले गुनासो गर्नुभएको छ।

‘यो बेलामा हामीलाई घरबाट समुहमा पुग्नुपर्ने बाध्यता छ,‘सबैतिर भेला भएरै कर्जा संकलन भइरहेको कर्मचारीले नै बताएका छन्’ ब्यवसायी लक्ष्मण चालिसेले भन्नुभयो ।

उहाँले आफ्नो श्रीमतिले लिएको कर्जाको दुईतिन किस्ता बाकीँ रहेको अवस्थामा शाखा खुलेपछि आएर तिर्ने कर्मचारीलाई जानकारी गराएपनि समुहले नै बोलाएको भन्दै आइतबार पुगेर तिरेको बताउनुभयो । लघु वित्त कर्जाको समुहमा १० देखि माथि आवश्यकता अनुसार बनाउने गरिन्छ ।

म्याग्दीमा लघुवित्तका कर्मचारीहरु समुदायस्तरमै पुग्न थालेपछि कोरोना संक्रमणको जोखिम समेत बढेको भन्दै स्थानीयले समेत विरोध गरेका छन् ।

कोरोना संक्रमितको नजिकै सम्पर्कमा रहेका महिलाहरु समेत कर्जा तिर्ने पुग्ने गरेको अवस्थामा थप संक्रमण समुदायमै फैलिने जोखिम रहेकाले निषेधाज्ञा खुकुलो नहुदाँ सम्म बन्द गर्न समुहका सदस्यले गरेको आग्रहलाई समेत बेवास्ता गर्ने गरेको पाइएको छ।

यता लघुवित्तका कर्मचारीले समुहबाटै बोलाएका कारण पुगेपनि नियमित कारोबार नगरेको दावी गरिएको छ । यसैबीच जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)का संयोजक एवम् प्रजिअ गणेशबहादुर अधिकारी समक्ष समेत उक्त विषयमा जानकारी गराइसकिएको छ ।

जिल्लामा कोरोना संक्रमतिको संख्या दैनिकजसो ह्वात्तै बढेपछि कोरोना भाइरसको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) जेठ १७ गतेसम्म थपिएको निषेधाज्ञाको उल्लंघन गरेमा कानुन अनुसार कारवाही गरिने जिल्ला प्रशासनले यस अगाडी नै चेतावनी दिएको छ ।

Leave a Reply