साता अघिदेखि ७० वर्षीय वृद्धलाई ज्वरो आयो । भाइरल भन्ठानेर औषधि खाए तर निको भएन । त्यसपछि छिमेकीको सहयोगमा पीसीआर गर्दा कोरोना संक्रमण देखियो । श्वासप्रश्वासमा समस्या भएपछि दम्पती नै उपचारका लागि पोखरा पुगेका छन् । उनको घरमा डेरा गरी बस्ने अन्य १५ जनालाई पनि संक्रमण पुष्टि भएको छ । १८ जनाको पीसीआर गर्दा १५ जनामा संक्रमण पुष्टि भएको हो ।

बागलुङ नगरपालिका–२ श्रीनगरटोलमा घरभेटी दम्पतीसहित १७ जनामा कोरोना पुष्टि भएको हो । १५ जनालाई घरभित्रै सिल गरिएको छ । संक्रमण नदेखिएका ३ जना घरभित्रै छुट्टै कोठामा बसेका छन् ।

संक्रमित भएका र नभएका दुवै थरीलाई होम आइसोलेसनमा राखिएको हो । ‘घरबाहिर निस्के टोलवासी डराउँछन्, नगए के गरी खाने ?’ संक्रमित एक महिलाले भनिन्, ‘ज्याला मजदुरी गरिन्थ्यो, त्यो पनि भएन ।’ उनीहरूमध्ये २ युवाले निर्माण क्षेत्रको मजदुरी गर्छन् । केही महिलाले गिट्टी बालुवाको काम गर्छन् । केही भने बालबालिका पढाउन बसेका हुन् ।

घरै सिल भएपछि आवश्यक सामग्री नगरबाटै उपलब्ध गराइदिन उनीहरूले आग्रह गरेका छन् । ‘समस्या बुझेरै अत्यावश्यक सामग्री घरको गेटसम्म लगिदिने व्यवस्थापन गरेका छौं,’ वडा सदस्य अर्जुन घिमिरेले भने, ‘अन्यत्र संक्रमण नहोस् भनेर सचेतना अपनाइएको छ ।’

नगरपालिकाको स्वास्थ्य शाखाले पनि नियमित भेट गरेर स्वास्थ्य अवस्थाबारे बुझिएको प्रमुख रामप्रसाद खनालले बताए । ‘उनीहरूको अक्सिजन, नियमित औषधि खानुपर्ने भएमा वितरणको काम गरिएको छ,’ खनालले भने, ‘दैनिक भेटेर सेवासमेत दिइएकाले ढुक्क हुन भनेका छौं ।’ अप्ठ्यारो परेमा तत्काल अस्पताल लैजाने काममा शाखा तयार रहेको उनले बताए । धौलागिरि अस्पताल र नगरपालिकामा एकएकवटा एम्बुलेन्स तयारी अवस्थामा रहेकोले ढुक्क भएर होम आइसोलेसनमै बस्न लगाइएको उनले बताए । बिहान, बेलुकी गीतसंगीत बजाएर नाचगानमार्फत व्यायाम गर्नसमेत उनले सुझाएका छन् ।

सदरमुकाममा एकै घरमा २ देखि ५ जनासम्म संक्रमित भएर भित्रै बस्ने धेरै छन् । उनीहरूलाई नियमित भेटेर स्वास्थ्य परामर्श दिइएको घिमिरेले बताए । ‘यसो गर्दा कोरोना जित्ने साहस मिलेको बताउँछन्,’ उनले भने । बागलुङ नगरपालिकामा मात्रै ५ सयबढी होम आइसोलेसनमा छन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मी मिलेर दैनिक घरभेट गरिरहेको वडा ३ की अध्यक्ष लक्ष्मी बाँस्कोटाले बताइन् ।

‘घरमा पुग्दा संक्रमितको मनोबल बढेको छ, दैनिक समस्या आएमा परामर्श लिन पाएका छन्,’ बाँस्कोटाले भनिन्, ‘छिटफुट रूपमा लापरबाही गरेको उजुरीसमेत आउन थालेको छ ।’ लापरबाही गर्नेलाई कडाइसाथ निगरानी गरेर घरभित्रै बसाल्न प्रहरी पनि परिचालन भएको उनले बताइन् । टोलटोलमा प्रहरी निगरानी टोली नियमित खटाइएको समेत बाँस्कोटाले जानकारी दिइन् ।

होम आइसोलेसन बसेकालाई संक्रमण पुष्टि भएको मितिले कम्तीमा १० दिन आइसोलेसनमा बस्न लगाइएको हो । कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply