कोरोना महामारीका कारण भोकै परेका करिब ३० घरपरिवारलाई म्याग्देली यूवा आवाजले खाद्यान्न सहयोग गरेको छ ।

कोरोनाको कारण म्याग्दी र पर्वत जिल्लामा समस्यामा परेका विपन्न, सुकुम्बासी र मजदुरहरूलाई लक्षित गरी प्रवासमा रहेका म्याग्देली यूवाहरुको आर्थिक सहयोगमा ‘फुड बैंक’ मार्फत खाद्यान्न सहितको स्वास्थ्य साम्रागी वितरण गरिएको हो ।

सदरमुकाम बेनीबजारसँगै जिल्लाका विभिन्न स्थानमा पुगेर भोकभोकै बसेकाको पहिचान गरी सहयोग गरिएको म्याग्देली यूवा आवाजका प्रतिनिधि छवि आचार्यले जानकारी दिनुभयो । अभियानमार्फत बृद्धबृद्धा, बिरामी अवस्थामा रहेका र सुकुम्बासीलाई राहत मिलेको आचार्यको भनाई छ ।

त्यस्तै अभियानमार्फत बेनी अस्पताल सहित विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य साम्रागी सहयोगका साथै उपचारमा पोखरासम्म पुर्याउन समेत सहजीकरण गरिएको अर्का सदस्य सतिश श्रेष्ठले बताउनुभयो ।

छुपडीमा बसेका बृद्धबृद्धाको आगनमै पुगेर चामल सहित खाद्यान्न सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको दक्षिण कोरियामा रहेका अभियानका संयोजक दिनेशजंग कटुवालले बताउनुभयो ।

कोरोना रोकथामका लागि मास्क र स्यानिटाइजर समेत उपलब्ध गराइएको छ । आगामी दिनमा समेत अभियानमाफर्त सहयोग गरिने म्याग्देली यूवा आवाजले जनाएको छ ।

गतबर्षदेखि सुरु भएको अभियानमार्फत यूवाहरुले बाढीपिहरो पीडित, बिरामीको उपचारका साथै विभिन्न रचनात्मक कार्य गर्ने गरेका छन् । प्रवासमा आर्थिक संकलन गरी जिल्लामा सहयोग ब्यवस्थापन तथा समस्या पहिचानका लागी एउटा टोली सक्रिय रहेको छ ।

युवा शक्ति देशको मेरुदण्ड भएकाले समाजमा र देशमा युवा श्रम र युवा शक्तिको उचित मुल्यांकनको सम्मानमा जोड दिएको छ भने युवाहरूलाई जनजागरण गर्नु नै म्याग्देली युवा आवाजको लक्ष्य भएकाले सबै क्षेत्रबाट सकारात्मक सहयोगको अपेक्षा समेत गरिएको संस्थाले जनाएको छ ।

Leave a Reply