दुई हप्तापछि पिसिआरको नतिजा घरमा, संक्रमति खेतबारीमा

कोरोनाको लक्षण देखिएपछि बेनी अस्पतालमा गएको बैशाख ३१ गते पिसिआरका लागि स्बाब दिएर होम क्वारेन्टाइनमा बसेका एक ब्यक्तिको स्बाबको रिर्पोट दुई सातापछि बुधबार आयो । स्बाब दिएर घर फर्किएपछि केही दिन श्वासप्रश्वासमा गाह्रो, शरीर दुख्ने, स्वाद हराएपनि विस्तारै स्वास्थ्यमा सुधार आएपछि नियमित काममा फर्किए ।

मास्क र सेनिटाइजरको प्रयोग गरी नियमित खेतबारीमा काम गर्ने गरेको अवस्थामा १३ दिनपछि रिर्पोट पोजेटिभ आएपछि पुनःहोम आइसोलेसनमा बसेका छन् । संक्रमति भएपनि अहिले उनीमा कुनै लक्षण छैन् ।

‘१३ दिनपछि नतिजा आयो,‘अब फेरी आइसोलेसनमा बस्नुपर्ने अवस्था देखियो’उनले भने । गएको जेठ १ गते स्बाब दिएका अर्का एक यूवा घरमै बसेपनि लामो समयसम्म नतिजा नआएपछि घरायसी काम गर्ने गरेका छन् । कुनैपनि लक्षण नभएको अवस्थामा कोरोनाको नतिजा पोजेटिभ आएको खवर जनप्रतिनिधिले जानकारी दिदै गर्दा उनी खेतबारीमा काम गरिरहेका थिए ।

बुधबार १ सय ५७ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो जसमा सबैभन्दा धेरै बेनी नगरपालिका भित्रका छन् । पिसिआर विधिबाट गरिएको परीक्षणमा कुल १ सय २१ जना र एन्टिजेनबाट ३२ जना रहेको स्वास्थ्य कार्यालयका सूचना अधिकृत गणेश सुबेदीले बताए । संक्रमतिमा बेनी नगरपालिका ९९, रघुगंगा गाउँपालिका ३४, अन्नपूर्ण गापाका ७, मंगला गापा ४ जना, धवलागिरी गापा ३, मालिका गापा २ जना छन् ।

सबै संक्रमति बैशाख ३१, जेठ १ र २ गते संकलन गरिएको स्बाब हो । ‘समयमै रिर्पोट नआउँदा समस्या हुन्छ,‘कोरोनाको रिर्पोटमै गोलमाल देखियो,‘गाउँबाट स्बाब संकलन गरिएकाको रिर्पोट समयमै आउनुप¥र्यो’ उनले भने। निको भइसकेको अवस्थामा स्बाबको नतिजा आउँदा समुदायस्तरमा थप त्रास फैलिने गरेको संक्रमितको गुनासो छ ।स्बाबको रिर्पोट समेत प्रयोगशालामै रोकिदाँ रिपोर्ट नआउँदासम्म शंकास्पद व्यक्ति गाउँमा घुम्ने, अरुसँग घुलमिल हुने गरेको पाइएको छ ।

कोरोना लक्षण देखिएपछि पिसिआर जाँच गर्न दिएको स्वाबको रिपोर्ट ढिलो आउँदा समुदायमा संक्रमण बढेको छ। जिल्लामा पिसिआरका लागि स्बाब दिइएकोमा १ महिलाको मृत्युपछि मात्रै नतिजा आएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैठकले जिल्लाभित्र लागु हुने गरी जेठ १७ गतेसम्मलाई निधेषधाज्ञालाई लम्बाइएको छ । कोरोनाको चेन ब्रेक गर्न (सर्ने प्रक्रिया रोक्न) थपिएपनि कोरोनाका संक्रमतिको संख्या उकालो लागिरहेको छ ।

निधेषधाज्ञामा ध्यान केन्द्रित गरेपनि स्बाब संकलन र परीक्षणमा भने झन्झटिलो विधिमै स्थनीय तह अल्झिएका छन् । पछिल्लो एक साता यताको तथ्याङ्क हेर्दा लिइएको स्याम्पलमा कतै ७० प्रतिशतसम्म पोजेटिभ आएको छ। सामान्य अवस्थामा गाउँमा ४० प्रतिशत पोजेटिभ देखिनु भनेको गाउँभित्र पनि संक्रमण फैलिएको छ भन्ने पुष्टि हो ।

मानिसहरूको आवतजावत कम हुने गाउँहरूमा पनि ३० देखि ४० प्रतिशतमा संक्रमण देखिनु भनेको भयावह अवस्था भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालले बताए । उनले आधा घण्टामै रिर्पोट आउने एन्टिजेन परीक्षणमा स्थानीय तहले प्राथमिकता दिएमा रिर्पोट ढिलो आउने समस्या समाधान हुने बताए ।

एन्टिजेन विधिको रिर्पोट समेत पिसिआर सरह हुने भएकाले तत्काललाई प्रत्येक स्थानीय तहलाई आवश्यक पर्ने किट उपलब्ध समेत गराइएको छ । कोरोना नियन्त्रणका लागि जोखिम मानिएका क्षेत्रमा स्क्रिनिङ र एन्टिजेन परीक्षणको दायरा बढाउन समेत स्वास्थ्यका जानकारहरुको भनाई छ । म्याग्दीमा संक्रमितको संख्या १७७२ जना पुगेको छ ।

जसमा पिसिआरबाट १३ सय ८६ जना र एन्टिजेनबाट ३ सय ८६ रहेका छन् । जिल्लामा ५५० जना सक्रिय संक्रमित छन् । अझै १ सय ६४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ। कोरोनाको लक्षण देखिएपछि स्बाब संकलन गरी पोखरा र बागलुङ पठाउने गरिएपनि लामो समयसम्म नतिजा नआउँदा लक्षण देखिएकाहरु समेत चिन्तित हुने गरेका छन्।