बेनी नगरपालिका-३,भकिम्लीमा दोस्रो लहरको कोभिड-१९ संक्रमण तीव्ररूपमा फैलिन थालेपछि संक्रमतिको उपचार र रोकथाममा स्थानीय सक्रिय भएका छन् ।

कोरोनाको लक्षण देखिएकाहरूको धमाधम पोजेटिभ रिर्पोट आउन थालेपछि संक्रमतिको उपचारमा सघाउन स्वंयमसेवक परिचालन, वडाबासीलाई स्वास्थ्य साम्रागी सहयोग, संक्रमतिको उपचारका लागि स्वास्थ्यकर्मीको भिजिट र संक्रमतिलाई थप उपचारका लागि बेनी अस्पतालमा ल्याउन एम्बुलेन्सको ब्यवस्था मिलाइएको छ ।

वडा कार्यालयको पहलमा सुरू भएको कोरोना नियन्त्रण तथा रोकथाम अभियानलाई थप बलियो बनाउन अमेरिकामा रहेका भकिम्लीबासी अक्सिजनको सिलिण्डर,अक्सिमिटर, डिजिटल थर्ममिटर, वडाका प्रत्येक घरधुरीलाई मास्क, सावुन र सेनिटाइजर समेत वितरण गरिएको वडा अध्यक्ष पदमबहादुर पुनले बताउनुभयो ।

‘कोभिड–१९ सङ्क्रमितको संख्या डरलाग्दो गरी बढ्न थालेपछि प्रभावकारी अभियानमा जुटेका छौ,‘प्रवासमा रहेका भकिम्लीबासीको सहयोगले समुदायस्तरबाटै नियन्त्रण गर्ने अभियानमा बल पुगेको छ’ अध्यक्ष पुनले भन्नुभयो । लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानीमा जोड दिइएको अध्यक्ष पुनको भनाई छ ।

भकिम्लीका सबै बस्तीमा रहेका कोरोना संक्रमतिको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न र शरीरमा अक्सिजनको मात्रा नाप्न १५ जना स्वंयमसेवकको साथमा हुने गरी अक्सिमिटर १५ थान, थर्ममिटर १५ थान, फेससिल्ड, मेडिकल पञ्जा सहित आवश्यक साम्रागी उपलब्ध गराइएको स्थानीय यूवा पूर्णबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार वडा कार्यालयमार्फत स्वास्थ्य चौकीलाई दुईवटा ठूलो अक्सिजन सिलिण्डर सहित आवश्यक थप उपकरणहरू समेत खरिद गरिएको बताउनुभयो ।

वडाबासीलाई कोरोनासँग जुध्न कुनै पनि अभाव नहुने भएकाले सुरक्षित बस्न समेत अपिल गरिएको छ । एन्टिजेन र पिसिआर परीक्षणमा कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेकालाई प्राथिमकता दिएर थप संक्रमण फैलिन नदिन घरदैलोमा अनुगमन तथा संक्रमतिको भेटघाट, औषधि वितरण समेत गरिएको छ । भकिम्लीमा हाल २८ जना संक्रिय संक्रमति छन् ।

Leave a Reply