अविरल बर्षाका कारण अवरुद्ध भएको बेनी-जोमसोम सडक मर्मतपछि सुचारु भएको छ । तीनदिन देखि लगातार वर्षासँगै म्याग्दी खण्डको विभिन्न स्थानमा खसेको पहिरोले शुक्रबारदेखि सडक अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक मर्मतसँगै सिधा सञ्चालनमा आएको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाका पर्यटन ब्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिनुभयो । सडकखण्ड अन्तरगत रघुगंगा गापा–१ बैसरी, दानाको रुप्से झरना गुईठेभीर सहित सुकेबगरमा पहिरो खसेको थियो ।

बाढीपहिरोको अवलोकन गर्न जानुभएका दाना प्रहरी चौकीका इन्चार्ज असई दिपक बहादुर क्षत्रीको माथिबाट पहिरो खस्दा खुट्टामा चोट लागेको थियो । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव रयास् चक्रवातको असरका कारण बिहीबारदेखि उच्च वर्षाले सडक हिलाम्मे भएको छ ।

शनिबार दिउँसोदेखि बर्षा घटेसँगै मौसममा समेत सुधार आएको छ । उत्तरी–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडकखण्डको ७६ किमीमा हाल स्तरोन्नति भइरहेको छ ।

Leave a Reply