बेनी नगरपालिका-३,भकिम्लीमा कोरोना संक्रमणको दोस्रो लहरको रोकथाम र नियन्त्रणको अभियानकै क्रममा दुई महिला स्वयंमसेविका संक्रमित हुनुभयो । कोरोना संक्रमति भएका स्वयंमसेविकाको अवस्था बुझ्न वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी सहितको टोली घरमै पुग्यो ।

गाउँका कोरोनाको सचेतनामुलक अभियानमा सक्रिय रहेको अवस्थामा संक्रमति भएपछि होम आइसोलेसनमा आवश्यक औषधी सहित स्वास्थ्य साम्रागी लिएर टोली आएको टोलीलाई आफ्नो अवस्थाका बारेमा जानकारी गराउनुभयो ।

वडाभित्र कोरोना तिब्र गतिमा फैलिएपछि दैनिक बिरामीको अवस्थाका बारेमा जानकारी लिने, आवश्यकता अनुसारका सहयोग तथा जटिल समस्या देखिएमा तत्काल बेनीमा रिफर गर्ने गरिएको स्वास्थ्य चौकीकी सिनियर अनमी तारा घर्तीमगरले जानकारी दिनुभयो ।

‘बिरामीको घरमै पुग्दा कोरोना जित्न धेरै बल पुग्छ,‘हरेक बिरामीको दैनिक रुपमै सूचना लिने गरेका छौ’ घर्तीमगरले भन्नुभयो ।

वडाभित्रका संक्रमतिलाई स्वास्थ्य साम्रागी उपलब्ध गराउने, नियमित अक्सिजनको अवस्थाका बारेमा जानकारी लिने तथा कुनै पनि समस्या भएमा तत्काल सहयोग गर्ने गरी अमेरिकामा रहेका भकिम्लीका यूवाहरुको सक्रियतामा एउटा मोटरसाईकल र जीप सहित १५ स्वयंमसेवक समेत परिचालन गरिएको वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

‘जहाँ संक्रमति हुनुहुन्छ, त्यही हामीले स्वयंमसेवक खटाएका छौ,‘हामीले कोरोनालाई नियन्त्रण गर्न सबै शक्ती परिचालन गरेका छौ’ अध्यक्ष पुनले भन्नुभयो ।

संक्रमतिको छिमेकीले समेत त्रास महसुस नगरी आवश्यक सहयोग गरेको पाइएको छ भने त्रास फैलिने अवस्था आएकाले संक्रमितको घरघर पुगेर आवश्यक परामर्श दिने कार्य प्रभावकारी भएको वडा अध्यक्ष पुनको भनाई छ ।

संक्रमितमध्ये जेष्ठ नागरिकलाई समस्या आउने भएकाले दिनको एकपटक स्वास्थ्यकर्मी र स्वयंमसेवक पुग्ने गरेका छन् । भकिम्ली स्वास्थ्य चौकीमा ठूलो अक्सिजन सिलिण्डर सहित आवश्यक उपकरणको ब्यवस्था मिलाइएको छ ।

अमेरिकाबाट प्राप्त सहयोगलाई स्थानीय अगुवा यूवा पूर्णबहादुर पुनको संयोजनमा वडामै पुगेर वितरण गरिएको छ भने अक्सिजनको अभाव भएकालाई तत्काल उपलब्ध गराउने गरी थप सिलिण्डरको समेत खोजी भइरहेको संयोजनकर्ता पुनको भनाई छ ।

यसअगाडी बेनीबाट गएर चन्द्रकुमार केसी सहितको टोलीले स्वास्थ्य चौकीसँग समन्वय गरी संक्रमितहरूलाई रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरण गरिएको थियो ।

यता स्वास्थ्य चौकी इन्चार्ज धिरजकुमार शाहले २४ घण्टा सेवा दिइरहेको बताउनुभयो । उहाँले कुनैपनि समस्या भएका बिरामीका बारेमा जानकारी पाएपछि घरमै र स्वास्थ्यचौकीमा सावधानी अपनाई उपचार गरिरहेको बताउनुभयो । भकिम्लीमा ३३ जना सक्रिय कोरोना संक्रमति हुनुहुन्छ ।

Leave a Reply