जिल्लामा कोरोना संक्रमितहरुलाई होम आईसोलेशनमै परामर्श सेवा दिन थालिएको छ। स्थानीय तहले संक्रमितको मनोबल बढाउन नियमित भेट, परामर्श र औषधि वितरण गर्न थालेका हुन्।

स्वास्थ्यकर्मीहरुले नियमित रुपमा स्वास्थ्य सम्बन्धि परामर्श दिन थालेपछि संक्रमण जित्न सहज भएको संक्रमितहरुले बताएका छन्। जिल्लाका ६ वटै स्थानीय तहमा कोरोना सङ्क्रमितकै घरदैलोमा स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि पुग्ने र परामर्श तथा औषधि वितरण गर्ने काम शुरु गरिएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन्।

मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाका अनुसार सङ्क्रमितलाई घरदैलोमा पुगेर औषधि वितरण गर्ने, पल्स अक्सिमिटरबाट अक्सिजन नाप्न लगाउने, मनोवल उच्च राख्न परामर्श दिनेलगायतका सेवा सञ्चालन गरिएको छ। गाउँपालिकाले अक्सिजनको लेबल कम भएकालाई कोभिड अस्पतालमा भर्ना गर्ने गरेको छ।

घरदैलोमा पुगेर परामर्श, सल्लाह र औषधि वितरण गर्दा उनीहरुमा हौसला बढेको बेनी नगरपालिका १ का वडाअध्यक्ष टेकबहादुर रावलले बताए। ‘सङ्क्रमण पुष्टि भएपछि मानिसहरु धेरै आत्तिँदा रहेछन्, यस्तो बेलामा मनोसामाजिक परामर्शले सङ्क्रमितलाई हौसला प्रदान गर्दो रहेछ’ अध्यक्ष रावलले भने, ‘हामी नियमित सल्लाह र परामर्श प्रदान गर्ने कार्यमा लागेका छौं।’

संक्रमितको घरमा अरु सदस्य लाई रोग नफैलियोस् भनेर मास्क, सेनिटाईजरसँगै अक्सिजनको मात्रा जाँच्न अक्सिमिटर र ज्वरो नाप्न थर्मल गन लगायत स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको बेनी नगरपालिका ३ भकिम्लीका वडाअध्यक्ष पदम पुनले बताए।

मंगला गाउँपालिकाले  सबै जनप्रतिनिधीहरुलाई क्षेत्र छुट्याएर सङ्क्रमितहरुको घरदैलोमा खटाएको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। ‘कसैलाई अस्पताल लैजानुपर्ने अवस्था भएमा डाक्टरसँग परामर्श गर्छौँ,’ रोकाले भने ‘दिनरात नभनी हामी घरदैलोमा छौँ।’ सामान्य अवस्थामा रहेकालाई स्वास्थ्य सामग्री वितरण गर्दै आएको उनले जानकारी दिए।

उता उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि सङ्क्रमितको अवस्था बुझ्दै आएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले बताए। उनले सबै स्वास्थ्य संस्था र वडा कार्यालयमा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइएको बताउँदै वडा मार्फत सङ्क्रमितको घरसम्म स्वास्थ्य सामग्री पुर्‍याउने गरिएको जानकारी दिए।

‘सङ्क्रमितको घरमा हामी पुगेर टाढैबाट भेट्छौँ,’ भण्डारीले भने ‘औषधी र स्वास्थ्य सामग्री पनि दिन्छौँ।’ भेटघाटले संक्रमितलाई केहि भए सरकार छ भन्ने हौसला हुने गरेको भण्डारीले बताए। कोरोना संक्रमण जित्न मनोवल घटाउन नहुने, नियमित परामर्श लिनुपर्ने, व्यायम र सन्तुलित भोजन गर्नुपर्ने स्वाथ्यकर्मीहरुले बताउने गरेका छन्

सङ्क्रमित मध्ये  अधिकांश ग्रामीण क्षेत्रका छन्। रिपोर्ट आउन बाँकी रहेका मध्ये ९८ प्रतिशत व्यक्तिहरु ग्रामीण क्षेत्रका रहेका छन्।

Leave a Reply